इटहरी : नेपाल विद्यार्थी सङ्घ सुनसरी सभापतिमा प्रमोद भट्टराई  चयन भएका छन् । नेविसंघ केन्द्रीय सभापति दुजाङ शेर्पाले भट्टराई लाई जिल्ला सभापतिको रूपमा चयन गरेका हुन् ।
नेपाल विद्यार्थी सङ्घको विधान २०२७ को पहिलो संशोधन २०७५ अनुसार ३ महिना भित्र जिल्ला अधिवेशन गराउने गरी भट्टराईलाई नेतृत्व प्रदान गरिएको हो । 
यसअघि २०७४ साल मङ्सिरमा मन्दीप भट्टराईको नेतृत्वमा तदर्थ समिति गठन भएको थियो । ०७४ फाल्गुन भित्र इकाई, क्षेत्र र जिल्ला अधिवेशन गराउने सहमति सहित गठन भएको भट्टराई नेतृत्वको समितिले अधिवेशन गराउन सकेन । सोही समितिलाई पुनः २०७५  वैशाख ६ गते सम्मको लागी समय थप भएको थियो । पछि भट्टराई नेपाली काँग्रेस इटहरी उपमहानगर समिति सचिव निर्वाचित भएपछि बुद्धहाङ लिम्बुलाई कार्यवाहकको जिम्मेवारी प्रदान गरे । 
लामो समय देखी अधिवेशन नभएको नेविसंघ सुनसरीमा अधिवेशनको नयाँ सञ्चार आरम्भ भएको छ । सबै पक्षसँग सहकार्य गरेर अगाडी बढ्ने उनले बताएका छन् । नेविसंघको आन्दोलन र लोकतान्त्रिक संस्कारलाई व्यवहारमा देखाउने सङ्गठन भएको पुष्टि गर्न आफू लागिपर्ने उनले बताए । 
विद्यार्थीको आवश्यकता र भावना अनुसार सङ्गठनलाई अगाडी बढाइने उनले उद्घोष गरेका छन् । आफूलाई आएको अधिवेशन गराउने जिम्मेवारीमा कुनै पनि कसर वाकी नराखी पहिलो दिनबाट नै लागिपर्ने बताए । स्ववियू निर्वाचन लगत्तै नेविसंघको इकाई अधिवेशन सुरु हुने उनको भनाई छ ।