इटहरी  : इटहरी उपमहानगरपालिका वडा नम्बर ४ की सिता भट्टराई आफ्नो जग्गा छिमेकीले मिचेको भन्दै गुनासो गरिरहेकी छिन् । फाल्गुन १२ गते शुक्रवार उपमहानगरपालिका कार्यालय अगाडी उनी परामर्श गरिरहेकी थिइन् । 
उनका छिमेकी चुणामणी दंगालले जग्गा मिचेर बाटो बनाएका छन् । सिता र चुणामणी दुवै ऐलानी जग्गामा बस्दै आएका छन् । सिताको घर अगाडीको कित्ता नम्बर ५०३ को ५ धुर जग्गा नम्बरी छ । जसलाई चुणामणीले बाटो बनाएका छन् । सोही विषयमा सिताले कानुनी लडाई सुरु गरेकी हुन् । 
श्रीमानले छाडेर एकल भएकी उनी त्यही जग्गाको आसमा छिन् । छोरो विदेश गएर सम्पर्कमा नआएको उनले बताइन् । छोरीले विवाह गरिसकेकी छिन् । माइतीबाट ल्याएको केही पैसा जम्मा गरेर जग्गा जोडेको उनले बताइन् । 
चुणामणीले नयाँ घर बनाएपछि झनै उनीहरू बिचमा दुरी बढ्दै गयो । घर बनाउनु भन्दा अगाडी नै बाटोको बारेमा आफूले सचेत गराएको सिता बताउँछिन् । घर बनाएर लामो समय हुँदासमेत वास्ता नगरेपछि उपमहानगरपालिकामा निवेदन दिएको उनको भनाई छ । उपमहानगरपालिकाको १४ नम्बर कोठामा छलफल भएको उनले सुनाइन् ।  
४ नम्बरका वडाध्यक्षलाई भन्दा पार नलागेपछि उपमहानगरपालिकामै पुग्नु परेको दुखेसो पोखिन् । वडा सदस्य विश्वेश्वर पोखरेल लगायतले घेरेको जग्गामा अतिक्रमण गर्न उक्साएको उनले बताइन् । चुणामणीले नयाँ घर बनाउँदा आफ्नो शौचालय भत्काउने गरी संरचना बनाएको गुनासो गरिन् ।  
उनले गत मङ्सिर २५ गते इटहरी उपमहानगरपालिकामा निवेदन दिएकी थिइन् । निवेदनमा पुस १९ गते दुवै पक्षलाई बैठकमा बेलाउने तोकादेश भएको थियो । पछि उपमहानगरपालिकामा कैलाश तिम्सिना र रेवती पोखरेलको रोहबरमा छलफल भयो । अमिन जनक दंगालले बुझाएको प्रतिवेदनमा पनि चुणामणी दंगालले ५-६ फिट जग्गा बाटोको रूपमा प्रयोग गरेको पुष्टि गरिएको छ।
चुणामणीका अनुसार २०५१ सालमा ७ घर सँगै बसेको र सोही जग्गा बाटोको रूपमा प्रयोग हुँदै आएको हो । २०५६ सालमा नयाँ घर बन्न थालेपछि जग्गा र बाटोको सीमा हेरफेर हुन थालेको उनले बताए । आफ्नो घर अगाडी नम्बरी जग्गा भएको तर ऐलानीमा बस्नेको लागि बाटो नभएको उनले प्रष्ट पारे । उपमहानगरपालिकाबाट उत्तरबाट जग्गा किनेर बाटो उपयोग गर्ने कुरा भएको उनले स्वीकार गरे ।
pidit-sita-2