धरान : सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा धरान रङ्गशालामा जारी ‘धरान एक्स्पो २०७९’को आज (शनिवार) औपचारिक समापन हुने भएको छ ।
सुनसरी क्षेत्रको व्यवसायीक, औद्योगिक, कृषि, साहित्य, शिक्षा, सूचना तथा प्रविधि, पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित एक्स्पो फागुन ११ बाट सुरु भएको थियो । 
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीद्वारा उद्घाटन गरिएको एक्स्पोलाई नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यमा समापन गरिने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिएका छन् ।
सुनसरी र धरान क्षेत्रका रैथाने उत्पादन, नेपाल, भारत, बंग्लादेश र पाकिस्तानका गरी एक सय २३ स्टल प्रदर्शनी भइरहेको एक्स्पोमा बाल उद्यान, मनोरञ्जनका लागि रेटेपिङ, नाउ लगायत खेल सामग्री सञ्चालन गरिएको छ ।
हरेक साँझ राष्ट्रिय, स्थानीय कलाकार र समूहले प्रस्तुति दिँदै आएको एक्स्पोमा समीर श्रेष्ठ, छेवाङ लामा, राजेश पायल राई, आस्था राउत, डिल्ली फोम्बो, दीपक लिम्बू, सुगम पोखरेल, ‘सबिन राई एन्ड फारोह’ र ‘द इमिमेन्ट्स’ले आ–आफ्नो प्रस्तुति दिई सकेका छन् । 
साङ्गीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमबाहेक एक्स्पो अवधिभर ‘स्वरोजगार तालिम’ र ‘पर्यटन गोष्ठी’ आयोजना गरिएको थियो ।
तालिम र गोष्ठी निकै फलदायी रहेको र यसले लक्ष्य प्राप्तिमा सहयोग गर्ने आयोजकले विश्वास लिएको छ । 
सुनसरी क्षेत्रमा पहिलो पटक डोम प्रविधिको प्रयोग गर्दै सञ्चालन गरिएको एक्स्पोमा धरान उपमहानगरपालिका र कोशी प्रदेश सरकारको विशेष सहयोग रहेको छ । 
एक्स्पोमा मितेरी डेभलपमेन्ट बैङ्क, सानिमा लाइफ इन्स्युरेन्स, बेबी आइसक्रिम, आईएमई, टुबोर्ग, निक, एसपीएल, ह्युन्डाई/लक्ष्मी, त्रिवेणी ग्रुप, सेन्चुरी मसला, यती कार्पेट, अन्नपूर्ण सिमेन्ट, नेपाल टेलिकम, बागमती प्लास्टिक, राष्ट्रिय वाणिज्य बैङ्क, पिएलओ ल्युब्रिकेन्ट्स, खुकुरी रम, डिभाइन वाइन, सिटिजन्स बैङ्क, फोसक्याम सिसिटिभी, मारुती सिमेन्ट, नबिल बैङ्क, एनएमबी बैङ्कको प्रायोजन रहेको छ । 
धरान एक्स्पो २०७९ सफल सञ्चालनका लागि नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, उद्योग वाणिज्य महासङ्घ (कोशी प्रदेश), रोट्याक्ट क्लब अफ धरान घोपा, दुहबी नगरपालिका, इनरुवा नगरपालिका, अर्जुनधारा नगरपालिका, साँगुरी गढी गाउँपालिका र वराहक्षेत्र नगरपालिकाको सहयोग विशेष रहेको छ ।
expo-sudan