इटहरी : इटहरीमा सबैभन्दा अग्लो भवनको रूपमा चिनिएको सेन्ट्रल प्लाजाका सञ्चालकलाई उपमहानगरपालिकाले पत्र काटेको छ । समयमा सम्पत्ति कर नबुझाएको भन्दै उपमहानगरले ६ दिनको म्याद सहित फाल्गुन १५ गते पत्राचार गरेको हो । 
प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले आर्थिक ऐन र स्थानीय सरकार सञ्चालन ऐन अनुसार कर बुझाउन बाँकी रहेको बताएका छन् । मेहताले हस्ताक्षर गरेको पत्रमा ‘श्री श्रेष्ठ इन्टरटेन्मेन्ट एण्ड हस्पिटालिटी प्रा.ली.’ ले उपमहानगरको आर्थिक ऐन २०७५, ७६, ७७, ७८, ७९ को दफा २ बमोजिम कर दाखिला नगरको उल्लेख छ । सेन्ट्रल प्लाजा भित्र सञ्चालित बरण्डा होटेल र सिनेफ्लेक्स सोही प्रा.लीको मातहतमा सञ्चालित छन् । 
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५५ तथा इटहरी उपमहानगरपालिकाको सम्पत्ति कर ऐन, २०७५ बमोजिम कर बुझाउनु पर्ने व्यवस्था भएको पत्रमा उल्लेख गरिएको छ । २०७५ जेठ ७ गते निर्माण सम्पन्न भएको ९५,१२५.०४९४ वर्ग फिटको भवनको एकीकृत सम्पत्ति कर नबुझाइएको मेहताले जनाएका छन् । सोही भवन (सेन्ट्रल प्लाजा) ले कर नबुझाएको कैफियत महालेखा परीक्षक कार्यालयको प्रारम्भिक प्रतिवेदनमा समेत उल्लेख भएको छ । 
नगर प्रमुख हेमकर्ण पौडेल र उपप्रमुख सङ्गीता चौधरीको निजी सचिवालयलाई बोधार्थ सहित सेन्ट्रल प्लाजाका सञ्चालकलाई पत्राचार गरिएको छ ।
Central-Plaza-letter