धरान : रङ्गशालामा बुढासुब्बा गोल्डकपको फाइनल खेल र धरान एक्स्पोको समापन समारोह चलिरहेको बेला शनिवार युवा, किशोर, किशोरीहरूको राम्रै जमघट पब्लिक हाई स्कुल मैदानमा पनि लागेको देखियो । कन्सर्ट र मःमः भनेपछि हुरुक्किने पुस्ताका लागि त्यहाँ दुवै कुराको फ्युजन गराइएको ‘मःमः रे फेस्ट’ उत्सवमा जमघट देखिएको हो ।
मःमः खाँदै कन्सर्टको मजा लिन पाइने मेलामा प्रवेश निःशुल्क भएकाले पनि एक्स्पो र गोल्डकपमा लाग्ने टिकटको पैसा बचाएर मःमः खानेहरूको रोजाई पनि मःमः उत्सव बनेको हुनसक्छ । धरानमा ठूल्ठूला आयोजना चलिरहेको बेला युवाहरूलाई आकर्षित गर्ने मःमः मेला कोकाकोलाको प्रचारका लागि गरिएको हो । 
मःमः र कन्सर्टको एक दिने मेला कोकको घुमन्ते मेला भएको बुझिएको छ । धरानमा बजार प्रवर्द्धन गर्न उसले धरानका छानिएको मःमः रेष्टुराँहरुलाई पब्लिक हाई स्कुलमा जम्मा गरी मेलाको रूप दिएको देखियो । मेलामा कुल २० स्टल थिए । त्यसमध्ये १४ स्टलहरू धरानका मःमः रेस्टुराँहरूका थिए । किशोर, किशोरीका लागि गेम जोन पनि राखिएको थियो ।
धरानको बेस्ट मःमः रेस्टुराँहरू सँगै धरान इन्टरनेशनल कलेज अफ होटेल म्यानेजमेन्टले मःमःको नयाँ आइटम झोल मःमःको स्वाद युवाहरू लाई चखाइरहेको थियो । कलेजका निर्देशक लोकेन्द्र श्रेष्ठले भने ‘मःमः हिजोआज युवाहरूको लोकप्रिय खाजा बनेको छ, यो सँगै कोकाकोलाको प्रचार गर्न कम्पनीले मःम: उत्सव आयोजना गरेको हो ।’
मेलाका स्टहरुमा दर्जन बढी भेराइटीका मःमःहरुको मेनु बोर्डमा हातैले लेखेर राखिएको थियो । प्रति प्लेट ३० रुपया देखी २०० रुपया सम्मका मःमः मेलामा पाइन्थ्यो । सामान्य रूपमा मःमः खानेहरूले फास्ट फुडको रूपमा सजिलो र सस्तो कुराको रूपमा मःम: लाई लिएको पाइन्छ । महँगो मःमः पनि हुन्छ भन्ने मेलाबाट अनुभव गर्न सकिन्थ्यो ।
मःमः संगैं आयोजकले साङ्गीतिक कार्यक्रममा गायिका तिर्सना गुरुङको प्रस्तुतिलाई युवा पुस्ताको ध्यानाकर्षण गराएको देखियो । मःमः खाँदै कन्सर्ट हेर्ने अवसरका रूपमा मेलालाई युवाहरूले उपयोग गर्न अस्वाभाविक होइन । किनकि मेलामा मःमः बाहेक सबै थोक निःशुल्क थियो ।   
पछिल्लो समय कोकाकोला स्वास्थ्यका लागि हितकर नभएको प्रचार भइरहेको छ । भारतीय आयुर्वेदका व्याख्याता गुरु रामदेवले त कोकमा टोइलेट सफा गर्ने रसायन मिश्रण गरिएको समेत दाबी गरेका छन् । कोकको नकारात्मक प्रचारका कारण बुढापाका, परिपक्व उमेरकाहरु कमै कोक पिउँछन् । युवाहरूमा भने यस्ता पेय लोकप्रिय नै छ । यस्तो बेला कोकाकोलाको बजार प्रवर्द्धनको लक्षित समूह युवा किशोर किशोर हुनु अस्वाभाविक देखिन्न ।