वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले सुर्यकुण्डसम्म पुग्ने सडक मार्ग व्यवस्थित बनाउन स्तरोन्नतिको कार्यलाई जोड दिएसँगै स्थानीयहरुले राहत महसुस गर्न थालेका छन् । वडा नं. १ मा रहेको पर्यटकीय क्षेत्र सुर्यकुण्ड जोड्ने सडकको स्तरोन्नति गर्ने कार्य धमाधम भइरहेको छ।
स्थानीय चेकराज राईका अनुसार बरडाँडा चियावारि सडकको काम, मिलन चौकदेखि सुर्यकुण्ड र भण्डारीटारबाट चावाचा हुँदै सुर्यकुण्ड सडकको स्तरउन्नतीको काम तीव्र गतिमा भइरहेको छ । सुर्यकुण्ड क्षेत्रलाई नगरपालिकाले प्राथमिकताका साथ राखेर यसवर्ष बजेट विनियोजन समेत भएको राईको भनाई छ । उनी भन्छन् नगर प्रमुखकै पहलमा विशेष सडकलाई प्राथमिकता राखेर प्रदेश र सङ्घबाट समेत बजेट आएको छ। विकासकालागि आएको बजेटको सदुपयोग गरेर काम भइरहेको छ ।
सुर्यकुण्ड धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा रहेको र यसको विकासकालागि काम भइरहेको पूर्व जनप्रतिनिधि समेत रहेका स्थानीय भूपाल राई बताउँछन् । मिलन चौक देबिथानदेखि सुर्यकुण्ड जोड्ने सडकलाई फराकिलो बनाउने, वाल लगाउने, बाटोलाई बिस्तार गर्न कार्य भई नगरपालिकाले गरिरहेको राईको भनाई छ । सर्यकुण्डलाई धरान र चतराबाट सडक सञ्जालले सहज रूपमा जोड्न नगरपालिका लागि परेको र नयाँ नेतृत्वबाट स्थानीयले धेरै ठुलो आस समेत गरेको उनी बताउँछन् ।
सुर्यकुण्ड ऐतिहासिक र महोत्सवको प्रर्बधन र स्थानीयहरूको जनजीविकालाई समेत प्राथमिकता राखेर काम भइरहेको नगर प्रमुख कार्कीले बताए । प्रदेश सरकार र सडक विभागले सडकबाट स्तरोन्नतिको काम र सुर्यकुण्डलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने नगरपालिकाको योजना रहेको नगर प्रमुख कार्कीले बताए। सुर्यकुण्डको बृहत् विकास र प्रबर्द्धनकालागि स्थानीय सरकारले सरोकारवाला पक्ष र प्रदेश तथा सङ्घीय सरकारसँग समेत समन्वय गरिरहेको नगर प्रमुख कार्कीको भनाई छ।
Surya-kunda-Sadak-2