धरान : विश्व युद्ध लडेका पूर्व गोरखा वीर योद्धा सैनिकहरूको सम्मानमा गोर्खा सिमेट्री ट्रष्टद्वारा धरानमा गोर्खा ट्रायल ब्लेजर दौड प्रतियोगिता आयोजना गरिने भएको छ । सोही अवसरमा दोस्रो विश्व युद्ध लडेका १०० वर्ष नाघेको ३ जना पूर्व गोरखा वीर योद्धाहरूलाई सम्मानित गरिने छ ।
यसअघि हङकङमा विश्वयुद्धका वीर गोर्खा सहिद गोर्खा योद्धाहरूको स्मृतिमा आयोजना गरिने पुर्खा दिवसमा गोर्खा ट्रायल दौड आयोजना गरिँदै आएको थियो । यसपालि पहिलो पटक नेपालमा गोर्खा ट्रायल ब्लेजर नेपाल आयोजना गरिएको आज आइतबार आयोजित पत्रकार सम्मेलनमा सिमेट्री ट्रष्टका अध्यक्ष महेन्द्रकुमार राईले जानकारी दिएका हुन् । 
दौड आउँदो चैत ४ गते हुँदैछ । दौडको दुरी ८ किलोमिटर ५०० मिटर हुने बताइएको छ । उक्त दुरीका लागि धरान-१८ रत्न चौकबाट मङ्गलवारे चौक, सर्दु खोलाको नयाँ पुल हुँदै विष्णुपादुका स्थित गोर्खा स्मृति पार्क सम्म गन्तव्य तोकिएको छ । गोर्खा ट्रायल व्लेजर दौडका विजेतालाई प्रथम पुरस्कार नगद १५ हजार, दोस्रो १० हजार, तेस्रो ५ हजार र चौथो सान्त्वना पुरस्कार ३ हजार प्रदान गरिने बताइएको छ ।
गोर्खा पार्कमा हुने समापन समारोहमा पूर्व गोर्खा वीर योद्धाहरूलाई गरिने छ । सम्मानित हुने वीर गोर्खाहरूमा ओखलढुङ्गाका १०२ वर्षीय धनसिंह राई, तेह्रथुम घर भई हाल धरान-११ मा बसोबास गर्दै आएका १०१ वर्षीय धनदल लिम्बु र सङ्खुवासभा घर भई हाल विराटनगर बस्दै आएका १०१ वर्षीय मानबहादुर लिम्बु छन् ।
गोर्खा ट्रायल ब्लेजरमा १ सय ५० जना भन्दा बढीको सहभागिता हुने अनुमान गरिएको छ । सहभागीताका लागि फार्म खुला राखिएको अध्यक्ष राईले बताए । उनका अनुसार गोर्खा सिमेट्री ट्रष्ट सन् २०१८ मा स्थापना भएको हो । त्यसयता ट्रष्टले वीर गोर्खाहरूलाई सम्मान कार्यक्रम गर्दै आएको छ । 
पत्रकार सम्मेलनमा गोर्खा स्मृति पार्कका अध्यक्ष क्याप्टेन हरि लिम्बुले दिवङ्गत वीर गोर्खाहरूको सम्मानमा स्थापित पार्कमा जीवित वीर गोर्खाहरूको सम्मान कार्यक्रम आयोजना हुनु गोर्खा भूपूका लागि गौरवको विषय भएको बताए । उनले गोर्खा ट्रायल ब्लेजर दौडले पर्यटनको गन्तव्य स्मृति पार्कको ख्यातिमा पनि योगदान गर्ने विश्वास व्यक्त गरे ।