धरान : धनकुटाबाट धरान तर्फ आइरहेको कारमा लुकाएर ल्याएको गाँजा सहित धरानका दुई जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कार चालक धरान-१६ का ४० वर्षीय सुकेन्द्र लिम्बु र धनकुटा पख्रिबास घर भई धरान-१७ मा बस्दै आएका २८ वर्षीय नवीन राई छन् । 
उनीहरूलाई वडा प्रहरी कार्यालय धरानको प्रहरी टोलीले शनिवार दिउँसो पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । गाँजाको ओसार पसार भइरहेको सूचना पाए लगत्तै प्रहरी टोली खटिएको थियो । 
प्रहरी टोलीले धरान-१३ मा धनकुटाबाट धरान आउँदै गरेको बा १३ च २६८ नम्बरको कारलाई रोकेर चेकजाँच गर्दा कार भित्र लुकाई छिपाई राखिएको अवस्थामा ४१ केजी गाँजा बरामद भएको हो । गाँजा सहित पक्राउ परेका दुई जना र सवारी नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
यसैगरी उदयपुरको कटारी नगरपालिका-१ कालिखोला एरियामा लागुऔषध गाँजाको ओसार पसारमा संलग्न सिराहा जिल्ला मिर्चैया नगरपालिका-४ का २२ वर्षीय ललित सिंहलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध गाँजा ओसार पसार भइरहेको सूचना प्राप्त भए लगत्तै इलाका प्रहरी कटारीबाट खटिएको प्रहरी टोलीले प्रदेश २-०१-००१ प १५२६ नम्बरको स्कुटरमा सवार सिंहलाई रोकेर चेकजाँच गर्दा २२ केजी लागुऔषध गाँजा बरामद गरेको हो । गाँजा सहित पक्राउ परेका सिंहलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । 
यसैगरी धनकुटाको साँगुरी गढी गाउँपालिका-८ मा रोकी राखेको एक पिकअप भ्यानबाट प्रहरीले १०६ केजी गाँजा बरामद गरेको छ । इलाका प्रहरी भेडेटारको प्रहरी टोलीले सडकमा रोकी राखेको को १ ज १८११ नम्बरको पिकअपलाई चेकजाँच गर्दा उक्त परिमाणको गाँजा बरामद गरेको हो । उक्त पिकअपमा चालक नभएको हुँदा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।