• रश्मि प्रधान
धरान : धरानमा पदयात्रा पर्यटन प्रवर्धनका लागि सहकारी संस्थाहरूको भूमिका निर्वाह गर्न आज सोमवार बिहान सहकारीका ५० जना अगुवाहरू धरान-धनकुटा पुरानो पैदल बाटो भेडेटार हुँदै नाम्जे सम्मका लागि हिँडेका छन् ।
भानुचौकमा आयोजित औपचारिक कार्यक्रममा उनीहरूको पैदल यात्रा दुई दिने भएको बताइएको छ । भानुचौकबाट हिँडेका पैदल यात्रीहरू फुस्रे हुँदै बिपी पार्क, साँगुरी डाँडा, भेडेटार हुँदै धनकुटा जिल्लाको नाम्जे बजार सम्म पुग्नेछन् । 
सुनसरी जिल्ला सहकारी सघका पूर्व वरिष्ठ उपाध्यक्ष, धरान–१५ का वडाध्यक्ष नरेश इङवारमले सहकारी नीति र विधिमा अघि बढ्दै सामाजिक क्षेत्रमा योगदान पुर्‍याउन पदयात्रा पर्यटन प्रवर्द्धनका लागि भएको यो कार्यक्रम उल्लेखयोग्य भएको बताए ।
जिल्ला सहकारीका वरिष्ठ उपाध्यक्ष  दिनेश श्रेष्ठले २०७३ सालमा नै सहकारीले पर्यटन प्रवर्द्धनका लागि पदयात्रा सुरुवात गरेको स्मरण गराए । धरानवासीले सहकारीलाई हेर्ने दृष्टि केही समय यता  नकारात्मक बनेको अवस्थामा पदयात्राले सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे । 
पदयात्राको सुरुआतमा उद्योग वाणिज्य सङ्घ सुनसरीका अध्यक्ष विजय श्रेष्ठ जिल्ला सहकारी उपाध्यक्ष काजी गिरि, कोषाध्यक्ष लक्ष्मी प्रधान, उद्योग वाणिज्यका वरिष्ठ उपाध्यक्ष गोपाल श्रेष्ठ, जिल्ला बचत तथा ऋण सहकारी सङ्घका सदस्यहरू मानबहादुर मगर, अफिसर सुयल, उद्धव लिम्बू, उमेश पौडेलको उपस्थिति रहेको थियो ।
कार्यक्रम संयोजक उमेश पौडेलका अनुसार धरामा रहेका सहकारीकर्मीहरुको एकता र सहकार्यमा पदयात्राको सुरु भएको हो । यसले आमजनमासमा सहकारिता प्रतिको विश्वास बढाउने र पर्यटकीय स्थलहरू सम्म पुग्ने पदयात्राको रुट प्रचार गर्न सहयोग पुग्ने बताए ।