• रश्मि प्रधान
धरान : धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवस समारोहमा प्रमुख अतिथिको निम्तो स्वीकार गरे पनि कार्यक्रमको अन्तिम समय सम्म पनि अनुपस्थित भएपछि आयोजक महिला सञ्जाल धरानका महिलाहरू रिसाएका छन् । धरानका ४६ वटा महिला संस्था आबद्ध सञ्जालले कार्यक्रम आयोजना गरेको हो । 
नारी दिवसको अवसरमा बुधवार भानुचौक देखी महिला सङ्घ, संस्थाहरूको वृहत् र्‍याली उपमहानगरपालिकाकै प्राङ्गणमा आएर सभामा परिणत भएको थियो । मेयर साम्पाङ र्‍यालीमा सहभागी भएनन् नै, समारोहको अन्तिम समय सम्म पनि उपस्थित भएनन् । प्रमुख अतिथि बिना नै कार्यक्रम समापन गर्नु परेपछि सञ्जालका महिला नेतृहरू रिसाएका हुन् ।
सञ्जालकी अध्यक्ष सपना राईले समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित हुने वचन दिएपछि, नभ्याउने स्थिति आएको हो भने अनुपस्थित हुने जानकारी समेत नदिइएकोमा खेद प्रकट गरिन् । उनले भनिन् ‘भ्याउँदिन भने भ्याउँदिन भन्न सक्नु पर्‍यो, कार्यक्रममा आउँछु भनेर नआउने अव हामीलाई बहिस्कार गर्नेलाई हामी पनि बहिस्कार गरौँ, मन्त्री ल्याएर भानुचोकमा कार्यक्रम गर्ने हाम्रो क्षमता छ ।’
मेयर साम्पाङले चुल्हो चौका छोडेर श्रमिक दिवस मनाउन आएका दिदी बहिनीलाई ‘महिलाहरू’ भनेर हेपेको, जोकर बनाउन खोजेको आरोप लगाउँदै भनिन् ‘महिलाहरू नट अ जोक ।’ उनले महिलाहरू कमजोर छैनन् हेक्का रहोस् महिलाहरूले नसघाएको भए धरान डे सफल हुँदैन थियो भन्दै कार्यपालिका सदस्यहरू कोही नआएको अवस्थामा महिलाले समन्वय गरेर धरान डे सफल बनाएको स्मरण गराइन् ।
सञ्जालकी संस्थापक अध्यक्ष गङ्गा बरालले कठिन परिस्थितिसँग पनि जुध्न सक्ने नारी धर्ती माता भएको बताइन् । मेयर साम्पाङको अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै बरालले भनिन् ‘उपमहानगरपालिका जनप्रतिनिधि विहीन अवस्थामा रहँदा पनि नगरवासीप्रति उत्तरदायी बनाउन महिला सञ्जालले सार्वजनिक सुनवाइ पनि गरेको हो ।’ २०६६ सालमा महिलाहरूले सञ्जाल स्थापना गरेर गरेर धरानलाई मृत सहर हुनबाट बचाएको बताउँदै उनले महिलालाई कमजोर नसोच्न आग्रह गरिन् ।
कार्यक्रममा उपस्थित रहेका धरान उपमहानगरपालिका उपप्रमुख आईन्द्र बेघाले भने ‘विश्वका महिलाहरूको इतिहासले महिलाहरू शक्ति भएको मान्नु पर्दछ ।’ उनले सन् १९०८मा न्युयोर्क सिटीमा १५ हजार महिलाहरूले समान कामको समान ज्याला आन्दोलन गरैकै कारण आज महिलाहरू पुरुष बराबरको स्थितिमा आएको बताए।
समारोहमा धरानकी पहिलो महिला ट्याम्पो चालक यातायात श्रमिक धरान-१ की मालती तामाङ, हस्तकलाकर्मी धरान-११ की मनमाया राई, धरानकी पहिलो पुष्प व्यावसायी महिला धरान-१९ की कल्पना लिम्बु, धरानकी गृह श्रमिक ढाका व्यवसायी धरान-१५ की प्रेमकुमारी राई, धरान उपमहानगरपालिकाकी सफाइकर्मी रुपा परियार सम्मानित भएकी छन् । सोही अवसरमा महिला सञ्जालकी संस्थापक अध्यक्ष गङ्गा बराललाई सम्मानित गरिएको छ ।
महिला सञ्जालले यो वर्ष स्वास्थ्य क्षेत्रमा योगदान दिने महिला विजयन्ती लिम्बूलाई  विशेष  सम्मान ‘साथी अवार्ड’ प्रदान गरेको छ । उनले अनमीका रूपमा २०३४ सालदेखि देशका विभिन्न जिल्लामा प्रसूति गराउँदै आएकी छन् । लिम्बूको सङ्घर्ष र योगदानको उच्च मूल्याङ्कन र प्रशंसा गर्दै अवार्ड प्रदान गरिएको हो ।
mhila-sanjal-program-2079