धरान : शिक्षक एवम् समाजसेवी स्वर्गीय चक्रबहादुर पालुङ्वाको स्मृति गर्दै जन्म दिनको अवसरमा खाना वितरण गरिएको छ ।लायन्स क्लब अफ धरान सिंहदेवीको आयोजना तथा मास्टर चक्रबहादुर फाउन्डेसनको सहयोगमा पुनर्स्थापना गृह, धरान-१ मा रहेका अपाङ्ग, अशक्त र अनाथ बालबालिका तथा वृद्ध-वृद्धाहरूलाई खाना वितरण गरिएको क्लबका निवर्तमान अध्यक्ष तथा डिष्ट्रिक चेयरपर्सन लायन सुजेन्द्र तामाङले बताए ।

क्लबका अध्यक्ष लायन सन्ध्या श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फाउन्डेसनका अध्यक्ष डा. योगेन्द्र पालुङवाले पिता स्वर्गीय मास्टर चक्रबहादुर पालुङवाले शिक्षा र सामाजिक क्षेत्रमा पुर्‍याउनु भएको योगदानलाई जीवन्त राख्न परिवारका सदस्यहरूबाट पिताको नाममा फाउण्डेशन नै स्थापना गरेर सामाजिक कार्यहरू गर्दै आएको बताउँदै उहाँकै जन्म दिनको अवसर पारेर उहाँको सम्झनामा खाना वितरण गरिएको बताए । उनका अनुसार स्व. पालुङवाले आफ्नो जीवनीमा आधारित चक्रको युग चक्र नामक जीवनी ग्रन्थ समेत प्रकाशित गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि चीफ वुमन लिडरसिप लायन मिना पुलामीले लायन्स क्लबको उद्देश्य नै समाज सेवा भएकाले आफ्नो दिवङ्गत बुबाको स्मृतिमा असहाय अशक्तहरूलाई खाना वितरण गरेकोमा मास्टर चक्रबहादुर फाउण्डेशन र  लायन्स क्लब अफ धरान सिंहदेवी परिवारलाई विशेष धन्यवाद व्यक्त गरिन् ।

क्लबका अध्यक्ष लायन सन्ध्या श्रेष्ठले क्लबको विभिन्न सेवामूलक क्रियाकलापका अतिरिक्त क्लबका सदस्य र तीनका परिवारका सदस्यको जन्मदिन र पुण्य तिथिको अवसर पारेर समेत विभिन्न सामाजिक कार्यहरू गर्दै आएको बताइन ।

कार्यक्रममा पुनर्स्थापना गृहका सञ्चालक भीम राईले खाना वितरण कार्यको उच्च प्रशंसा गरे ।

क्लबका सचिव लायन रमिता श्रेष्ठद्वारा सञ्चालित कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष लायन जयप्रकाश शर्मा, तृतीय उपाध्यक्ष लायन पञ्चकला राई, कोषाध्यक्ष लायन मनोज अग्रवाल, समाजसेवी अमर इजम, शिक्षाविद् गङ्गा चौलागाई, सल्लाहकार लायन चन्द्रमाया लिम्बु, फाउन्डेसनका कोषाध्यक्ष दिलमाया यक्सो पालुङ्वा लगायतको उपस्थिति रहेको थियो ।