धरान : कोशी प्रदेश नामाङ्कन खारेज गरी पुनः नामकरणको माग गर्दै आज भएको आम हडतालले प्रदेशको धरान स्थित प्रमुख धार्मिक स्थलहरू प्रभावित भएको देखियो । यातायातका साधन सबै ठप्प भएकाले बाहिरबाट दैनिक आउने तीर्थहरू आउन पाएनन् नै । पूजा अर्चना गर्ने स्थानीयहरू पनि प्रभावित भए ।
विजयपुर स्थित प्रसिद्ध धार्मिक स्थलहरूमा धरान बाहिरबाट दैनिक दुई सय भन्दा बढीको सङ्ख्यामा आन्तरिक पर्यटकहरू आउने गर्छन् । रिजर्भ बसमा तीर्थयात्रा, अवलोकन, अध्ययन भ्रमणका विद्यार्थी देखी ज्येष्ठ नागरिकहरूको दैनिक आउने टोलीहरू यातायात बन्दका कारण नआउँदा आइतबार धार्मिक स्थलहरू सुनसान देखिए ।
मुलुक बाहिरबाट समेत धरान आएका आगन्तुकहरू विजयपुरको अवलोकन गर्न पुग्छन् । उनीहरू विजयपुर पुगेपछि यहाँको ऐतिहासिक तीर्थस्थल दन्तकाली, बुढासुब्बा र पिण्डेश्वर मन्दिर अनिवार्य रूपमा पूजा अर्चना, अवलोकन गर्न पुग्छन् ।
आम हडतालको दिन अपराह्न बुढासुब्बा मन्दिर पुग्दा परिसर सुनसान देखियो । बन्दका कारण तिर्थालुको कमीले सधैँ अबेर सम्म खुला राखिने मन्दिरकोद्वारमा ताल्चा लगाइएको थियो । अन्य दिन दैनिक आउने, तिर्थालुका लागि पूजा अर्चनामा पुजारी मन्दिरमा रहने गर्दथे ।
मन्दिर आएकाहरूका भाडाका सवारी ट्याम्पो, बाहिरबाट आएका तिर्थालुका सवारी साधनहरू सधैँ परिसरमा देखिन्थ्यो । आइतबार भने कुनै सवारी सधानहरू परिसरमा थिएनन् । मन्दिरको प्रवेशद्वार नजिकैका सामाजिक अभियन्ता प्रेमप्रसाद पराजुलीले बन्दका कारण फाटफुट बाहेक सधैँ झैँ चहल पहल नभएको बताए ।
नेपालकै शक्ति पीठहरू मध्ये एक दन्तकाली मन्दिरमा पनि फाटफुट बाहेक चहल पहल देखिएन । पछिल्लो समय बोलबम बाबाधामको नामले प्रसिद्ध ऐतिहासिक पुरातात्त्विक पिण्डेश्वर महादेव मन्दिर परिसर पनि सुनसान देखियो । पुजारी देवीप्रसाद कोइरालाले यातायातका साधन नचलेपछि त्यसको प्रभाव पर्नु स्वाभाविक भएको बताए ।
उनका अनुसार विवाह, व्रतबन्ध लगायत पूजा अनुष्ठानको मुहूर्त परेको दिन मन्दिर परिसरमा आयोजना हुने धार्मिक कार्यले चहल पहल देखिने गर्दछ । आइतबार त्यस्तो कुनै मुहूर्त नपरेका हुनाले पनि परिसर सुनसान देखिएको हो । 
बन्द हडताल नभएको धेरै लामो समय पछि प्रदेशको नामाङ्कनको विषयमा भएको राजनीतिका कारण आइतबार आम हडताल भएको हो । यसबाट धरानको पर्यटन तथा धार्मिक स्थलका कारण दैनिक आय आर्जन हुने अवसर एक दिनका लागि भए पनि हुँदा खानेहरूले गुमाएका छन् । 
आम हडतालका आव्हानकर्ता प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिका नेताहरूले भानुचौकमा आइतवरको बन्द सकिएको र चैत ५ गते विराटनगरमा विशाल प्रदर्शन गर्ने उद्घोष गरेका छन् । 
राजनीतिक दलहरूसँग पनि जोएिका उनीहरूले कोशी प्रदेश नाम नसच्याए सम्म आन्दोलन जारी रहने बताएकाले आउँदा दिनमा पनि बन्द, हडताल हुने सम्भावना बढेको छ । मुलुक भर नभए पनि प्रदेशमा सिर्जना हुने पुरानै स्थितिको राजनीतिक निकास खोज्न जरुरी छ ।