विराटनगर : विराटनगर स्थित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १२ करोड भन्दा बढी रकम ठगी गरेको आरोपमा अध्यक्ष, सचिव सहित ३ जनालाई प्रहरीले  पक्राउ गरेको छ । सहकारी संस्थाले शेयर र बचतकर्ताहरूको रकम डुबाएको घटना बढी रहेको बेला यो पछिल्लो घटना हो ।
पक्राउ पर्नेहरूमा सहकारीकी उपाध्यक्ष मोरङ उर्लाबारी-६ की अनिता गौतम, सहकारीकी सचिव झापाको भद्रपुर नगरपालिका-१४ घर भई विराटनगर-३ बस्ने सविना न्यौपाने र सहकारीका क्षेत्रीय प्रबन्धक विराटनगर-२ का मन्दिप खवास रहेका छन् । अन्य ५ जनाको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनीहरूलाई सहकारीका शेयर सदस्यहरूले बचतकर्ताहरूले आइतबार दिएको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो । उजुरीकर्ताहरूले सहकारीको १२ करोड  ९ लाख ४ हजार ४ सय ८७  रूपैया बराबरको रकम ठगी भएको दाबी गरेका छन् ।
उजुरीमा सहकारीको मुख्य कार्यालय विराटनगर-२ फागुन १ गते देखि सेयर सदस्यहरूलाई कुनै जानकारी नदिई कार्यालय बन्द गरी सञ्चालकहरू फरार भएको उल्लेख छ । सहकारीले बाल बचत र ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन, कर्मचारी चल्ती बचत, विशेष बचत, साधारण बचतको नाममा निक्षेप सङ्कलन गर्दै आएको थियो।
बचतकर्ताले शेयर सदस्य बनेमा १५ प्रतिशत भन्दा बढी व्याज, बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने प्रलोभनमा बचतकर्ताहरूको ठुलो रकम बचत गर्दै आएकोमा फागुन १ गते देखि कार्यालय बन्द गरी सञ्चालक समितिका सबै पदाधिकारीहरू सम्पर्क विहीन भएको उजुरीमा उल्लेख छ ।