धरान : वाणिज्य, विकास बैङ्क तथा फाइनान्स कम्पनीले बुधवारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् ।
वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो । बैङ्क तथा वित्तीय संस्थाले आज सूचनामार्फत सो कुराको जानकारी दिएका हुन् । 
चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलव चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको सङ्घका अध्यक्ष सुनिल केसीले जानकारी दिए। 
उनले सङ्घ ऋणको ब्याजदर घटाउनमा केन्द्रित भएको बताए । हाल बैङ्कहरूले कर्जामा आधार दरमा छ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए । अब एक प्रतिशत घटेपछि आधार दरमा पाँच प्रतिशतसम्म प्रिमियम दर तोक्नेछन् ।
यस्तै निक्षेपतर्फको साधारण बचतमा न्यूनतम छ प्रतिशतदेखि अधिकतम आठ प्रतिशतसम्म ब्याज दिनेछन् । यसअघि साधारण बचतमा न्यूनतम छ दशमलव ४२ प्रतिशतदेखि अधिकतम आठ दशमलव ४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो । मुद्दती निक्षेपको ब्याजदर भने स्थिर राखिएको छ । हाल बैङ्कहरूले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन् । 
यस्तैगरी, संस्थागततर्फ नौ प्रतिशत र ‘रेमिट्यान्स’ मुद्दती खातामा १२ प्रतिशत ब्याजदर तोकिएको छ । यस्तै, विकास बैङ्कहरूको छाता सङ्गठनका रूपमा रहेको डेभलपमेन्ट बैंकर्स एसोसिएसनले चैतका लागि मुद्दती निक्षेपको ब्याजदर शून्य दशमलव २५ प्रतिशतसम्म घटाएको छ ।
सङ्घको निर्णयअनुसार विकास बैङ्कहरूले चैत महिनादेखि एकवर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११ दशमलव ६० प्रतिशत कायम गरेको छ । त्यस्तै, एक वर्षभन्दा कमको मुद्दती निक्षेपको ब्याजदर ११ दशमलव ५० प्रतिशत कायम भएको ।
हाल विकास बैङ्कहरूले एकवर्षे वा सोभन्दा बढी दुवैको व्यक्तिगत मुद्दती निक्षेपमा ११ दशमलव ७५ प्रतिशत ब्याजदर दिँदै आएका थिए ।
यसैगरी, ब्याजदर घटाएसँगै विकास बैङ्कहरूले चैतमा एकवर्षे वा सोभन्दा माथिको संस्थागत मुद्दती निक्षेपमा नौ दशमलव ६० प्रतिशत र साधारण बचतमा न्यूनतम छ दशमलव ६० प्रतिशतदेखि आठ दशमलव ६० प्रतिशत ब्याजदर प्रदान गर्नेछन् ।
त्यसैगरी, नेपाल वित्तीय संस्था सङ्घ (फाइनान्स)ले मुद्दती निक्षेपको ब्याज दर शून्य दशमलव २० प्रतिशतले घटाएको छ । सङ्घले तीन महिनामाथिको निक्षेपको ब्याज दर शून्य दशमलव १५ प्रतिशत घटाउने निर्णय गरेको छ । 
फाइनान्स कम्पनीहरूले एक वर्षको मुद्दती निक्षेपमा १२ दशमलव १० प्रतिशत ब्याज दिँदै आएकामा चैत १ गतेदेखि ११ दशमलव ९० प्रतिशत ब्याजदर कायम गरेका छन् ।