धरान : गाउँ टोलमा बनेको सडकलाई सौन्दर्यीकरण गर्दै संरक्षण गर्न धरान वडा १ का अगुवाहरूले नयाँ थालनी गरेका छन् ।
विद्युत् प्राधिकरण जाने महानन्द मार्गबाट सन्मार्ग जोड्ने हालै बनेको खहरे कोरिडोर सडकमा आआफ्ना पितृहरूको स्मृतिमा शिरीषको बोट रोपेर उनीहरूले सौन्दर्यीकरण र संरक्षणको जिम्मा लिएका हुन् ।
धरान उपमहानगरपालिकाले बनाएको १०० मिटर लामो कोरिडोरमा वडाका २५ परिवारका अगुवाहरूले आफ्नै खर्चमा एकै किसिमको हाइब्रिड शिरीषका बिरुवा रोपेका छन् । आज बिहान आयोजित कार्यक्रममा अग्रज महिला ८२ वर्षीय सूर्यकुमारी थापाले स्वर्गीय श्रीमान् कुलकेशर थापाको स्मृतिमा बिरुवा रोपेर वृक्षारोपण सुरु गरिन् ।
कोरिडोरमा स्वर्गीय कृष्णप्रसाद श्रेष्ठ (बिए कृष्ण) को स्मृतिमा छोरा शैलेस श्रेष्ठ, स्वर्गीय राजेन्द्रबहादुर थापाको स्मृतिमा छोरा वीरेन्द्र थापा, दिवङ्गत आमा देवका आचार्यको स्मृतिमा विकाश आचार्य सहित २५ अगुवाहरूले पितृको स्मृतिमा वृक्षारोपण गरेका छन् ।
कोरिडोरलाई पितृ स्मृति स्थलको रूपमा संरक्षण गर्न साहसिक पर्यटन व्यवसायी वडाका युवा अगुवा मदन ढकालको अध्यक्ष रहेको उपभोक्ता समितिको पहलमा वृक्षारोपण भएको हो । ढकालले भने ‘सडक बन्ने गरे पनि संरक्षणको अभाव देखियो, सडक सफा राख्ने, सुन्दर बनाउन अन्य वडा, टोलले पनि नयाँ उपाय अपनाउन भने वृक्षारोपण गरेका हौँ।’
उनका अनुसार पितृको स्मृतिमा रोपिएको ठाउँ र बिरुवाप्रतिको लगावले कोरिडोरको संरक्षण र सौन्दर्यीकरणमा सबैको अपनत्व रहने विश्वास गरिएको छ । प्रत्येक परिवारले वृक्षारोपणका लागि ४ हजार रुपया पनि योगदान गरेका छन् । हाइब्रिड शिरीषको फुल १५ फिट सम्म अग्लो हुने प्रजातिका छन् । 
वृक्षारोपणका लागि कुल १ लाख रुपया सङ्कलन भएको उपभोक्ता सचिव सुशील मास्केले जानकारी दिए । महँगो बिरुवा सुरक्षाका लागि फलामको घेरा बेरा बनाइएको छ । बाँकी रहेको रकम बिरुवा हुर्काउन वर्षायाम नआउँञ्जेल नियमित पानी लगाउन र हेरचाहका लागि रुङगालुमा खर्च गरिने उनले बताए ।
sardhu-karidor-123
karidor-siris-ko-phul