सुनसरी : श्रीमानले हाँकिरहेको मोटर बाइक पछाडि बसेकी श्रीमतीको अचानक बाइकबाट खसेर मृत्यु भएको छ । घाइते अवस्थामा अस्पताल पुर्याएपछी श्रीमतीको मृत्यु भएको हो ।  

सुनसरीको बर्जू गाउँपालिका–२ मा गए राती डेढ बजेको समयमा उक्त घटना भएको हो । बर्जू गापा-३ की ३६ बर्षीया चन्द्रकलादेवी मोटरसाइकलबाट आफै लडी घाइते भएकोमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

को ७ प ५६५ नम्बरको मोटरसाइकल उनको श्रीमान् ४१ वर्षीय शैलेन्द्र रायले हाँकी रहेका थिए ।  पछाडि बसेकी चन्द्रकलादेवी मोटरसाइकलबाट आफै लडी घाइते भएकोमा श्रीमान् शैलेन्द्रले उपचारका लागि अस्पताल पुर्‍याएका थिए ।

प्रहरी अनुसार उपचारको क्रममा चन्द्रकलादेवीको कोसी अस्पताल विराटनगर मृत्यु भएको हो । दुर्घटना सम्बन्धमा थप अनुसन्धान गर्न घटनामा संलग्न चालकलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ ।