धरान : धरानका दुई जना युवालाई विराटनगर स्थित नेपाल-भारत सिम क्षेत्रमा भारतबाट नेपालतर्फ लागुऔषध ब्राउन सुगर सहित आउँदै गरेको अवस्थामा प्रहरीले हिजो मङ्गलवार पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा धरान-८ का ३० वर्षीय जंंगमनी मगर र धरान-७ का २७ वर्षीय विक्रम राई रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरी अनुसार मोरङको विराटनगर-१५ ढाट स्थितमा लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको को २७ प ८८९५ नम्बरको मोटरसाइकलको ट्याङ्की मुनि लुकाई छिपाई राखेको अवस्थामा उनीहरूबाट ८ ग्राम ७८ मिली ग्राम ब्राउन सुगर फेला पारेको थियो । लागुऔषध सहित पक्राउ परेको दुवैलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।
यसै गरी दमकमा श्रीमान् श्रीमतीको जोडीलाई लागुऔषध ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक-७ का २३ वर्षीय रविन कटुवाल र उनको श्रीमती २१ वर्षीय अनिता बिक छन् । उनीहरूबाट प्रहरीले ६ सय ७० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।   
प्रहरी अनुसार मंगलबार बेलुका झापाको दमक नगरपालिका-१ मा लागुऔषध बिक्री वितरण भइरहेको छ भन्ने विशेष सूचना पाएपछि इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्दा लागुऔषध सहित श्रीमान्, श्रीमतीलाई पक्राउ गरेको हो ।