धरान : तीनकुने सम्म आइपुगेको कोशी राजमार्गको धरान बजार खण्ड सडक ७२ फुटमा विस्तार गर्ने कुरा पनि स्वीकार नगरिने सरोकारवालाहरूले अडान दोहोर्‍याएका  छन् । उनीहरूले राजमार्गका लागि बाइपास सडकको ३ वटा विकल्प रहेको सुझाव दिएका छन् ।

नेपाली काँग्रेस सुनसरी-१ क्षेत्रीय समितिद्वारा आज सोमवार आयोजित सडक विस्तार सम्बन्धी अन्तरक्रियामा सहभागी सङ्घर्ष समितिहरूका पदाधिकारीहरूले उक्त अडान दोहोर्‍याएका  हुन् । छलफलमा सडक विस्तारबाट प्रभावित हुने धरान वडा १, ७, ८, १२, १३ र १५ का सङ्घर्ष समिति, घर जग्गावालाहरू सहभागी थिए ।

सडक विस्तारको विवाद लामो समय सम्म चलिरहँदा बजारको सडक स्तर वृद्धि तथा राष्ट्रिय गौरवको योजना कोशी राजमार्ग निर्माण कार्य पनि रोकिएकाले स्पष्ट निष्कर्ष निकाल्न सरोकारवालाहरू सँग काँग्रेसले छलफल आयोजना गरेको हो ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङले भने ‘स्थानिय सरकारले सडकको कुरालाई गम्भीरतापूर्वक नलिएकोले सरोकारवालाहरू सँग स्पष्ट निष्कर्ष लिएर पार्टीको रणनीति बनाउन छलफल आयोजना गरिएको हो।’

उनले ‘कोशी राजमार्ग’ बाइपास गर्न बजारको सडकलाई ‘सहरी सडक’ कायम गरी त्यसैको मापदण्डमा स्तर वृद्धि गर्न ७२ फुट सम्मको विस्तार गर्न सकिने, नसकिने धारणा राख्न छलफलका लागि प्रस्ताव राखेका थिए ।

धरान-१ का पूर्व वडा अध्यक्ष रोशन अधिकारीले ७२ फुटको सडक बनाउँदा पनि घर त भत्किने नै भयो जग्गा पनि एकै धुर पनि बाँकी नरहने अवस्था आउनेहरू पनि भएकाले त्यो पनि स्वीकार्य नहुने बताए । 

उनले लक्ष्मी चौकका सुमन श्रेष्ठको उदाहरण दिदैं पछिल्लो पटक सडक विस्तार गर्दा उनको घर भत्कियो । अधिकारीले भने ‘घडेरी जग्गा पनि उत्तर र पश्चिम आधा भन्दा बढी काटियो । अब ७२ फिटको सडक बनेमा उनको एक धुर घडेरी पनि रहँदैन ।’

बजार क्षेत्रमा सडक विस्तार गर्दा सुकुम्वासी हुने थुप्रै भएको बताउँदै उनले प्रश्न गरे ‘बजारको चौकमा घर भएकाहरू सुकुम्वासी हुने, सरकारले क्षतिपूर्ति पनि नदिने अवस्थामा सडक विस्तारलाई कसले स्वीकार गर्छ ?’

सडक विस्तारमा पर्ने वडाहरूका सङ्घर्ष समितिहरू मिलेर बनेको संयुक्त सङ्घर्ष समितिका संयोजक निनाचन्द्र राईले ‘बाइपास बाहेक अन्तिम समय सम्म वार कि पारको सङ्घर्ष गर्ने’ संयुक्त निर्णय भएको सुनाउँदै बाइपासका ३ वटा विकल्प भएको बताए ।

उनका अनुसार पहिलो विकल्प सेउती कोरिडोर पटक पटक उठेको कुरा हो । दोस्रो विकल्प सर्दु कोरिडोर निर्माण अहिले प्रस्तावित छ र तेस्रो विकल्प धरान तीनकुनेबाट मदन भण्डारी राजमार्गमा जोडेर तमोर कोरिडोरमा जोड्ने सहज उपायहरू छन् ।

छलफलले धरान बजारको मुख्य सडक कोशी राजमार्ग नभएकोले ‘सहरी सडक’ कायम गर्न सम्बन्धित निकायमा पहल गर्ने निष्कर्ष निकालेको छ । सरोकारवालाको बाइपासका विकल्प, भावना र मागलाई नेपाली काँग्रेसले सम्बन्धित निकायमा पुर्याउने प्रतिबद्धता जनाएको छ ।

प्रदेश सभाका पूर्व सांसद चन्द्रप्रसाद श्रेष्ठले राजमार्गको मापदण्ड २०० फिट भएकोले धरान बजारको सडक राजमार्ग नभएको बताउँदै ‘सहरी सडक’को मापदण्ड अनुसार जानु पर्ने सुझाव दिए ।

वडा १२ का गिरिराज अधिकारीले धरान बजार भित्रको सडक राजमार्ग कायम नभएको बताउँदै भने ‘२०५५ सालमा बजारको सडक विस्तार भयो, त्यस बेला पनि राजमार्गको प्रक्रिया अपनाइएन ।’

धरान-१३ का सङ्घर्ष समिति अध्यक्ष तुलनाथ भण्डारीले २०३२ सालमा सडक ३२ फिटको थियो । अहिले सम्म राज्यले राजमार्ग बनाउने घोषणा गरेर जग्गा प्राप्ति ऐन अनुसार क्षतिपूर्ति सहित अधिग्रहणको प्रक्रिया नअपनाएको बताए ।

धरान-१२ का परशुराम राईले भने ‘कानुनी प्रक्रिया देखी जस्तो सुकै सङ्घर्ष गर्न र मर्न तयार छौँ, तर सडक विस्तार मान्दैनौँ । धरान-१ का लोकेन्द्र आचार्यले सर्वोच्चको नजिरहरूमा आबाद क्षेत्रबाट राजमार्ग लैजान नपाउने उल्लेख भएको बताए ।

छलफलमा धरान-७ का गौरवमान श्रेष्ठ, धरान-८ का अजय श्रेष्ठ लगायतले बजार बिचबाट राजमार्ग लैजान नहुने बताए । छलफलको सहजीकरण काँग्रेस क्षेत्रीय सचिव महेन्द्र प्रधानले गरेका थिए ।