धरान : विराटनगरमा कोशी प्रदेश नामाङ्कन खारेजको माग सहित भएको प्रदर्शनमा अश्रुग्याँस र हवाई फायर भइरहेको बेला ओखलढुङ्गा पुगेका मुख्यमन्त्री हिक्मत कार्कीले त्यहाँ पनि आन्दोलनकारीको सामना गर्नु परेको कुरा अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । 
कोशी प्रदेश नाम खारेज गर्न माग गर्दै आन्दोलनकारीले सिद्धिचरण नगरपालिका वडा ११ गोरुमारे भन्जयाङ चोकमा मुख्यमन्त्री सवार गाडी तोडफोड गरेका छन् । गाडीमा राखिएको झण्डा निकालेर फालेका छन् । 
मुख्यमन्त्री जिल्लाका विभिन्न योजनाहरू उद्घाटन र शिलान्यास गर्न शनिवार ओखलढुङ्गा पुगेका थिए । उनलाई कालो झण्डा देखाउँदै आन्दोलनकारीले सिद्धिचरण राजमार्गमा टायर बालेर चक्काजाम गरेका थिए ।
ओखलढुङ्गाको पुनः: नामाङ्कन सङ्घर्ष समितिको अवरोध कार्य नेपाल आदिवासी जनजाति महासङ्घको अगुवाइमा भएको हो । मुख्यमन्त्री कडा सुरक्षाकावीच ओखलढुङ्गा सदरमुकामबाट सिद्धिचरण नगरपालिका-१ तलुवामा सामुदायिक भवनको उद्घाटन गर्न गएको बेला नाराबाजी गर्दै कालोझण्डा देखाइएको थियो । 
यसअघि मुख्यमन्त्री कार्कीको कार्यक्रमलाई अवरोध गरेपछि कार्यक्रम स्थगित सम्म गर्नु परेको छ । रुम्जाटारपछि सिद्धिचरण नगरपालिका वडा ६ र सहरी विकास तथा भवन कार्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम थियो । आन्दोलनकारीले रमाइलो डाँडाको मुख्य चोकमा टायर बालेर विरोध गरेपछि उक्त कार्यक्रम स्थगित गरिएको पाथीभराडेली डटकमले जनाएको छ ।