सुनसरी : ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबले १३ औ संस्करणको कन्ट्रोल इटहरी गोल्डकपमा सहज जीत हात पारेको छ । इटहरी रङ्गशालामा आज सोमबार सम्पन्न खेलमा पाहुना टोली भारतको कञ्चनजङ्घा फुटबल क्लबलाई ५-२ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
मछिन्द्रको जीतमा कप्तान अफिज ओलावालले ह्याट्रिक सहित ४ गोल गरे । अर्को गोल विजय भुजेलले गरे । पहिलो गोल ३९ औ मिनेटमा गरेका ओलावालले ६१, ६६ र ८८ औ मिनेटमा गोल गर्दै आफ्नो गोल सङ्ख्या ४ पुर्‍याए । त्यसअघि विजय भुजेलले ६४ औ मिनेट गोल गरेका थिए । 
कञ्चनजङ्घाका अनीश राईले २ गोल गरे पनि हार टार्न सकेनन् । खेलको १५ औ मिनेटमा अतीस राईको पासमा अनीशले गोल गरेर अग्रता दिलाएका थिए । खेलमा ४ गोल गरेका मछिन्द्रका कप्तान ओलावाले म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार प्राप्त गरे । 
मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले दोस्रो रोजाइका खेलाडीहरूले समेत उत्कृष्ट खेल प्रदर्शन गरेको बताए । उनले सुरुवातमा गोल व्यहोर्न पुगे पनि कमब्याक जित निस्किएको बताए । टिमका महत्त्वपूर्ण सदस्यहरूमा राष्ट्रिय टोलीको क्याम्पमा भएको र विमल घर्ती मगर लगायतका केही खेलाडीहरू घाइते भएकाले विश्राम दिइएको बताए ।
खेलाडीहरूको इन्जुरीका कारण टिमको प्रदर्शनमा तलमाथि भइरहेको उनले बताए । कञ्चनजङ्घाका प्रशिक्षक दिनकर क्षेत्रीले खेलाडीहरूको गल्तीका कारण गोल व्यहोर्न पुगेको बताए । उनले पेनाल्टीमा गोल व्यहोरेपछि खेलाडीहरूको मनोबल गिरेर थप गोल हुन पुगेको बताए ।
काउन्टर अट्याकमा ३ गोल व्यहोर्न पुग्नु नै पराजयको मुख्य कारण भएको उनले बताए । मछिन्द्रले अब साबिक विजेता सगरमाथा क्लब मोरङ सँग बुधवार सेमिफाइनलमा खेल्नेछ । सगरमाथा उद्घाटन खेलमा एभिनियर फुटबल क्लब क्यामरुनलाई पराजित गदै सेमिफाइनल पुगिसकेको छ । भोलिको खेल विभागीय टिम त्रिभुवन आर्मी र रोलिंग क्लब झापाबिच हुनेछ ।