इटहरी : सुनसरीका दुई उद्योगी एकै पटक उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने भएका छन् । जिल्ला नगर सदस्यमा धरानका राजेन्द्र शाह र बस्तुगत तर्फ शिव प्रसाद घिमिरेले उम्मेदवारी दिने भएका हुन् । 
सुनसरी उवासंघको सिफारिसमा उम्मेदवारी दिने तयारीमा रहेका शाह सङ्घका पूर्व अध्यक्ष समेत हुन् । उवासंघले सिफारिस गरेको प्रतिनिधिले उम्मेदवार बन्न पाउने विधानको व्यवस्था अनुसार शाहलाई सुनसरी उवासंघले सिफारिस गरेको हो । बाबा इन्टरप्राइजेज, जयमाता मनकामना सप्लायर्स लगायत राइस मिलका सञ्चालक उनी सुनसरीका सफल उद्यमी हुन् । व्यवसायीक राजनीतिमा लामो समय बिताएका उनी केन्द्रीय सदस्य बन्ने अन्तिम तयारीमा छन् । 
घिमिरेले भने नेपाल एलपी ग्यास उद्योगको तर्फबाट बस्तुगत उम्मेदवारी हुने भएका छन् । घिमिरेलाई बस्तुगत सङ्घका प्रतिनिधिले र शाहलाई जिल्ला नगरका प्रतिनिधिले मतदान गर्नुपर्ने भएको छ । पूर्व केन्द्रीय सदस्य समेत रहेका घिमिरे यसअघि १ मतले पराजित भएका थिए । इटहरीमा सञ्चालित प्रिमा ग्यास उद्योगका सञ्चालक उनले नेपालमै पहिलो पटक इलेक्ट्रिक कारको कारखाना सुरु गरेका छन् । 
अबको महासङ्घको महाधिवेशनले बढ्दो आर्थिक सङ्कट र बैङ्कको ब्याजदरको विषयमा गम्भीर बहस गर्नुपर्ने घिमिरेको भनाई छ । नेपाली युवा रोजगारीको अभावमा बिदेसिनुपर्ने र विदेशी नागरिक बोलाएर नेपालका उद्योगमा काम लगाउनुपर्ने बाध्यताको अन्त्यको लागि पहल गर्नुपर्ने उनले बताए । तरलता सँगै लगानीमैत्री वातावरणको अभावका बिचको यो असामान्य परिस्थितिको ठोस निर्णय खोज्ने बेला भएको घिमिरेले प्रस्ट पारे ।  
महासङ्घको निर्वाचनको लागि २१ मनोनयन दर्ताको समय तोकिएको छ । २८ गते उद्घाटन हुने महाधिवेशनको २९ गते चुनावको कार्य तालीका सार्वजनिक भएको छ । काठमाण्डौमा हुने महाधिवेशनमा वरिष्ठ उपाध्यक्षका लागि दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई, र उमेशलाल श्रेष्ठले दाबी गरिरहेका छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने प्रावधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल २९ गतेपछि स्वतः अध्यक्ष हुने भएका छन् ।