वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले नगर भित्र रहेका १२० जना बेरोजगार युवाहरूलाई सीप सिकाएर रोजगारी दिने भएको छ ।
ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) र वराहक्षेत्र नगरपालिका बिच नतिजा आधारित व्यावसायिक सीप तालिम कार्यक्रम अन्तरगत उक्त सीप सहितको रोजगार दिइने छ ।
उक्त कार्यक्रमको सञ्चालन गर्नेका लागि वराहक्षेत्र नगरपालिका, आयोजक ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) र प्राविधिक सहयोगको लागि समृद्धि कार्यालय हेल्वेटास बिच सम्झौता भएको छ ।
बेरोजगार युवाहरूले श्रम बजारको माग अनुरूप प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद्ले तयार गरेका रोजगार मूलक बिषयहरमा आधारित व्यवसायीक सीप तालिम हासिल गरे पछि रोजगारी समेत दिइने छ । यान्त्रिक, पर्यटन र आतिथ्य सत्कार, कृषि, निर्माणका पेसागत क्षेत्रमा तालिम र रोजगारी दिइने छ।
कार्यक्रम अन्तर्गत एसी, फ्रिज मर्मतमा २० जना, कुकमा २० जना, तरकारी खेतीमा २० जना, डकर्मीमा २० जना, प्लम्बरमा ६ महिला र १४ जना पुरुष गरेर २० जना, बेमौसमी तरकारी खेतीमा २० जना गरेर ५१ जना महिला र ६९ जना पुरुषले सीप सहित रोजगारी पाउने छन् । उक्त कार्यक्रम २०८० पौष १५ गते सम्म सञ्चालन हुनेछ ।