धरान : कोशी प्रदेश नामाङ्कन खारेजी, पुनः नामकरण माग सहितको आन्दोलन पहिचान पक्षधर एक आन्दोलनकारीको मृत्युले गम्भीर बनेको बेला ४ राजनीतिक दलहरूले प्रदेश सभालाई बधाई दिँदै आइतबार संयुक्त वक्तव्य जारी गरेका छन् ।
संवेदनशील अवस्थामा दलहरूको संयुक्त वक्तव्य असंवेदनशील भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । वक्तव्यमा आन्दोलनको क्रममा घाइते भई मृत्यु भएका पदम लिम्बु लाजेहाङप्रति दुःख प्रकट गरिएको छैन नै, त्यस्तो घट्नाको स्थिति नदोहोरियोस् भन्ने चिन्ता समेत प्रकट गरिएको देखिन्न ।
आन्दोलनको मागलाई संवैधानिक मार्गमा अवतरण गराउन सङ्घीय सरकारबाट उक्त घट्नाको छानबिन गर्न समिति गठन भएको छ । प्रधानमन्त्री पुष्पकमल दहालले आन्दोलनको माग राजनीतिक रूपमा वार्ताबाट निकास दिने आश्वासन दिएका छन् ।
प्रदेशका दलहरूले वक्तव्यले भने प्रदेश सरकारलाई आन्दोलनलाई दमन गर्न उक्साउने खालको देखिएको छ । वक्तव्यमा समस्याको समाधान वार्ता, संवादबाट हुने भनिए तापनि आन्दोलन भडकाउने, सत्तापक्षलाई उक्साउने चुनौतीका भाषामा ‘सामाजिक सद्भाव खलल पुग्ने तथा असंवैधानिक गतिविधिहरू तत्काल बन्द गर्न’ भनिएको छ।
वक्तव्य नेकपा (एमाले) प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपाने, नेपाली काँग्रेस प्रदेश सभापति उद्धव थापा, नेकपा माओवादी केन्द्र प्रदेश सचिव गणेश उप्रेती र राप्रपा प्रदेश अध्यक्ष राम थापाले जारी गरेका हुन् ।
सामाजिक सञ्जालमा विज्ञप्तिको भाषाप्रति टिप्पणी गर्दै राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देनले प्रश्न गरेका छन् ‘अब खुल्लम खुल्ला भिड्ने हो मित्रहरू ?’
आन्दोलनका प्रमुख घटक किरात याक्थुङ चुम्लुङको केन्द्रीय सल्लाहकार नरप्रसाद लुङफुङवा लिम्बुले लेखेका छन् ‘एकतन्त्रीय पञ्चायती व्यवस्थामा यस्तो वक्तव्य खुबै आउँथ्यो । ज्ञानेन्द्र कालमा पनि यस्तो वक्तव्य खुबै आउँथ्यो । भाषा, शब्द शैली उहीँ छ । आन्दोलनमा यस्तो कुराको कुनै भाउ हुँदैन ।’
political-Party-statement