धरान : कोशी प्रदेश नामाङ्कन खोरजी, पुनःनामकरणको माग सहित आज विराटनगरको भएको विरोध प्रदर्शनमा प्रहरीले प्रदर्शनकारी माथि अश्रुग्याँस, पानीको फोहरा र रबरको गोली समेत प्रहार गर्दा दर्जन आन्दोलनकारी घाइते भएका छन् ।
प्रदर्शनकारीले प्रदेश सभाका सांसदहरू सहभागी रहेको कार्यक्रम चलिरहेको रोडशेष चौक स्थित बिग होटेल अघि राखिएको तारबार हटाएर प्रवेश गर्न खोजेपछि सुरक्षाका लागि ठुला सङ्ख्यामा तैनाथ प्रहरी र आन्दोलनकारी बिच झडप भएको थियो ।
झडपको क्रममा प्रदर्शनकारीले होटेलका साथै प्रहरी माथि ढुंगामुडा प्रहार गरेका थिए । ढुङ्गा प्रहारबाट होटेलको शिक्षाहरू फुटेका छन् । यसै बिच प्रहरीले अश्रुग्याँस प्रहार गरेको प्रदर्शनमा सहभागी किरात याक्थुङ चुम्लुङका सचिव शिव इस्बोले बताए ।
अश्रुग्याँसबाट प्रदर्शनकारी नरोकिएपछि पानीको फोहरा प्रहार गरिएको थियो । त्यस पछि प्रहरीले आन्दोलनकारी माथि रबरको गोली प्रहार गरेको उनले बताए । प्रहरीको प्रहारबाट दर्जन प्रदर्शनकारी घाइते भएका छन् ।
इस्वोका अनुसार धरान-१६ शिव आङदम्बेको निधारमै रबरको गोली लागेर उनी घाइते भए । अन्य घाइतेहरूमा एनके दर्नाल धरान-५, उदय नेम्बाङ माङ्सेबुङ-३, ज्ञान प्रसाद राई धरान-११, सुरज राई ग्रामथान गापा-६ मोरङ छन् ।
यस्तै घाइते सरोज लिम्बू इटहरी तरहरा-७, अशोक राई धरान-१८, पदम लिम्बू इटहरी-५ विशाल राई धरान-१०, रेसम राई तरहरा, रोयल राई इटहरी-५, विमल किराँती इटहरी-८, आस्था राई धरान-१२ घाइते भएका छन् ।
घाइतेहरूको विराटनगर स्थित पारस अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि धरान स्थित बिपी प्रतिष्ठानमा उपचारका लागि रेफरल गरिएको छ । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सुनसरी जिल्ला सभापति अनुसार बिपीमा अहिले ७ जनाको उपचार भइरहेको छ ।
बिपीमा भर्ना भएका मध्ये ३ जनाको टाउको चोट लागेको छ । यो समाचार तयार गर्दा सम्म उनीहरूको सिटी स्क्यान गर्ने तयारी भइरहेको छ । अन्य ४ जनाको पनि चिकित्सकहरू द्वारा घाउचोटका जाँच भइरहेको उनले बताए ।
brt-andalon-ghaite-1