•  रोहित कुलुङ राई

धरान : राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदन अनुसार धरान उपमहानगरको जनसङ्ख्या बढेको छ । यस सँगै परिवार सङ्ख्या र जनघनत्व पनि बढेको छ ।

दश वर्ष अघि २०६८ को जनगणनामा धरानको जनसङ्ख्या १ लाख ३७ हजार ७०५ थियो । २०७८ को जनगणनाको प्रारम्भिक नतिजा अनुसार उक्त जनसङ्ख्या बढेर १ लाख ६६ हजार ५३१ पुगेको छ ।

धरानको जनसङ्ख्या वृद्धिमा पहिले र अहिले पनि महिलाको सङ्ख्या बढी देखिएको छ । २०६८ को जनगणनामा महिलाको सङ्ख्या ७३ हजार ३४ जना थियो । यसपालि २०७८ को जनगणनामा त्यो सङ्ख्या बढेर ८८ हजार १२१ पुगेको छ ।

त्यसको तुलनामा २०६८ जनगणनामा पुरुषको सङ्ख्या ६४ हजार ६७१ थियो । यसपालि २०७८ को जनगणनामा ७८ हजार ४१० जना पुगेको छ । धरानको जनसङ्ख्या वृद्धिदर १ दशमलव ८६ प्रतिशत देखिएको छ ।

जनसङ्ख्याका साथै धरानमा परिवार सङ्ख्या पनि बढेको जनगणनाको रिपोर्टले देखाएको छ । २०६८ को जनगणनामा धरानको परिवार सङ्ख्या ३२ हजार ६९३ थियो । २०७८ सालको जनगणनामा त्यो सङ्ख्या बढेर ४२ हजार ३९६ पुगेको छ ।

जनसङ्ख्याको वृद्धि सँगै धरानको जनघनत्व बढेर गएको छ । २०६८ को जनगणनामा प्रति १ किलोमिटर बराबर ७१५ जनघनत्व थियो । २०७८ को जनगणनाको रिपोर्टमा ८६६ रहेको देखिएको छ । यसले सहरीकरण र बसोबासको तीव्रता बढेको देखाएको छ ।

राष्ट्रिय जनगणना २०७८ मा धरानको उक्त तथ्याङ्क धरान उपमहानगरपालिकाले आफ्नो वेबसाइटमा अपडेट गरेको छ । केन्द्रीय तथ्याङ्क विभागले अहिले सम्म जनगणनाको जातिगत तथ्याङ्क भने सार्वजनिक गरेको छैन ।