विराटनगर : विराटनगर महानगरपालिकाले दुई जना क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।  
शहीद रङ्गशालामा आयोजित विशेष समारोहमा महानगरले विराटनगर-१४ निवासी क्रिकेटर ललित राजवंशी र दीपेश कँडेललाई सम्मान गरेको हो ।
हालै सम्पन्न डिभिजन-२ क्रिकेटमा राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई विश्वकप क्रिकेटको छनौट (क्वालिफायर) मा पुर्‍याउन महत्त्वपूर्ण योगदान गरेर विराटनगरको प्रतिष्ठालाई उच्च बनाएकाले नगद १ लाख १ हजार रुपैयाँ राशिसहित सम्मान पत्र गरेको हो ।
त्यस्तै कँडेलले पनि हालै युएईमा सम्पन्न यूथ-१९ विश्वकप क्रिकेट प्रतियोगिताको छनौट खेलमा युएईविरुद्ध ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपाललाई ८ वर्षपछि यू-१९ विश्वकपमा पुर्‍याउन सफल भएका थिए । कँडेलकै कारण नेपाल यूथ-१९ विश्वकपमा पुग्न सफल भएको छ ।
कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राजवंशी र कँडेललाई दोसल्ला ओढाएर जनही १ लाख १ हजार राशिसहित सम्मान-पत्र प्रदान गरेका थिए । 
सो अवसरमा मन्त्री राजभण्डारीले खेलकुदले देशको प्रतिष्ठालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने बताए । त्यस्तै मेयर कोइरालाले खेलकुदमार्फत विराटनगरको प्रतिष्ठालाई माथि उकास्न योगदान गरेका कारण महानगरले नगदसहित राजवंशी र कँडेललाई सम्मान गरेको जानकारी गराए ।
उनले विश्वका जस्तोसुकै शक्तिशाली मुलुकलाई पनि खेलकुदका माध्यमबाट परास्त गर्न सकिने धारणा राखे । “नेपालभन्दा युएई निकै धनी र शक्तिशाली छ तर नेपालले उसलाई जित्न सफल भएको छ,” मेयर कोइरालाले भने, “उहाँहरूलाई हौसला होस भनेर महानगरले सम्मान गरेको हो ।”
उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालगायतले खेलाडीहरूको उज्ज्वल भविष्यको शुभकामना दिएका थिए । सो अवसरमा विश्वका महान् फुटबल खेलाडी पेलेको अर्धकदको मूर्ति निर्माण गरी विराट गोल्डकप स्थल शहीद रङ्गशालामा निःशुल्क रूपमा स्थापना गरिदिने अभिषेक तिम्सिनालाई समेत सम्मान गरिएको थियो ।