इटहरी : कोशी प्रदेशको नामको विषयमा जातीय संस्थाहरूको आन्दोलन जारी छ । प्रदेशसभाको दुई तिहाइ बहुमतबाट कोशी नाम पारित भएपछि पहिचानवादी संस्थाहरूले आन्दोलन गरेका हुन् ।
फरक नाम प्रस्ताव गरेको जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले आन्दोलनलाई सुरुवात देखिनै समर्थन गरेका छन् । नेपाली काँग्रेस र नेकपा एमालेले अब नामको बारेमा थप बहस नहुने बताइसकेका छन् ।
प्रदेशसभाको तेस्रो ठुलो दल माओवादी केन्द्रलाई भने कोशी नाम निल्नु न ओकल्नु भएको छ । लामो समय देखी पहिचानको मुद्दा  उठाएको माओवादीले संसद्मा पहिचानको मुद्दा उठाउन सकेन ।
पहिचान विरोधीको आरोप लागेका प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई निर्वाचन क्षेत्रका जनताले समेत लखेटेका थिए । फलस्वरूप आन्दोलन सुरु भएको लामो समयपछि माओवादीले आफ्नो बचाउ गर्दै विज्ञप्ति निकालेको छ ।
शनिवार प्रदेश अध्यक्ष हर्क बहादुर नेम्वाङ र सचिव गणेश उप्रेतीद्वारा जारी विज्ञप्तिमा पुनः नामकरणको माग गरिएको छ । माओवादीले सङ्घीयता, गणतन्त्र, समानुपातिक र समावेशिताका मुद्दाहरू निरन्तर उठाउँदै आएकाले बहुपहिचानका आधारमा  प्रदेशको नामकरण हुनुपर्ने बताइएको छ ।
प्रदेशसभामा मुद्दा उठाउन नसकेको विषयलाई पहिचान पक्षधरहरूको प्रतिकुल अङ्कगणित भएको कामचलाउ प्रतिक्रिया दिइएको छ । जबकि १ सिटको जसपा र ४ सिटको नेकपा एसले पहिचानको विषयमा बहस चलाएका थिए ।
बहुपहिचान सहितको नामका निम्ति सङ्घर्ष गर्ने प्रतिबद्धता जनाएको माओवादी केन्द्रले आन्दोलनलाई सफल बनाउन साझा एजेन्डा सहित सहकार्यको प्रस्ताव गरेको छ ।
विभिन्न सङ्घ, संस्थाहरूले चलाइरहेको शान्तिपूर्ण आन्दोलन प्रति समर्थन र ऐक्यबद्धता जनाउँदै पदम लिम्बू लाजेहाङ्गलाई सहिद घोषणा गर्न जोडदार माग गरेको छ ।
Koshi-name-maobadi-kendad