धरान : बरगाछी महिला समूहको आँखा शिविरमा एकै दिनमा १ सय ६५ जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ । धरान-८ स्थित नरसिंह मिनी मार्केटमा आज शनिवार शिविर सञ्चालन भएको हो ।
सूर्य आइ कियरको सहयोगमा भएको शिविरमा वरिष्ठ आँखा रोग विशेषज्ञ डा.इच्छा जोशी सोनीले आँखाको चेकजाँच गरेका हुन् ।  
ज्येष्ठ नागरिकहरू सहज रूपमा सुविधा प्रदान गर्न आयोजित शिविरमा उच्च रक्तचाप, मधुमेहको जाँच पनि गरिएको थियो । आँखा जाँच गरिएकाहरूलाई निःशुल्क औषधि पनि वितरण गरिएको थियो । 
आँखा जाँच गरिएका मध्ये २७ जनाको दृष्टि कमजोर भएको पाइएको छ । १४ जनाको आँखाको प्रेसर जाँच र एक्स-रे गर्नुपर्ने अवस्था पाइएको छ । १२ जनाको आँखाको शल्यक्रिया गर्नुपर्ने पाइएको छ । 
११ जनाको आँखामा मोतिया विन्दु पाइएको छ । २६ जनालाई चस्मा लगाउन सिफारिस गरिएको छ । ३५ जनाको पुनः चेकजाँच गर्नुपर्न बताइएको छ । 
शिविरको उद्घाटन धरान-८ का वडाध्यक्ष धनबहादुर राईले गरेका थिए । उनले शिविरको आयोजनाले वडावासीलाई सहज रूपमा आँखा चेकजाँच गर्ने अवसर मिलेको बताए । 
समूहकी सल्लाहकार शिला बज्राचार्यले शिविरबाट अस्पतालको पहुँचमा नभएका ज्येष्ठ नागरिकहरूले सहज सेवा पाएको बताइन् । समूहका महिलाहरूको सामाजिक सेवामा क्षमता विकास गर्ने अवसर पनि मिलेको उनको भनाई थियो।
कौशिकी क्याम्पसका प्रमुख मोहन श्रेष्ठले शिविर ज्येष्ठ नागरिकहरूका लागि उपयोगी भएको बताए । समूहकी अध्यक्ष चन्द्रकला प्रधानको सभापतित्वमा भएको कार्यक्रममा उनले समूहले यस अघि पनि समुदायको हितका कार्य गर्दै आएको जानकारी गराइन् ।
सहभागीहरूलाई उपाध्यक्ष मेनुका कार्कीले स्वागत गरेकी थिइन् । कार्यक्रममा करुणा आचार्जु, उमेश पौडेल, वसन्त भट्टराई, नीरज मास्के लगायतको उपस्थिति थियो । बरगाछी महिला समूहको १५ सदस्यीय कार्य समिति रहेको छ ।