दमक : प्रविधिमैत्री कृषि अभियानका लागि दमक नगरपालिकाले कृषकहरूलाई आधुनिक कृषि सामाग्री वितरण गरेको छ । नगरभित्र रहेका कृषकहरूलाई समूह मार्फत पचास प्रतिशत अनुदानमा बिषादि छर्किने इलेक्ट्रिक पावर स्प्रेयर र मकै छोडाउने मेसिन वितरण गरेको हो ।
नगरपालिकामा आज आयोजित कार्यक्रममा नगर प्रमुख राम थापा, उपप्रमुख रेगिना भट्टराईले ती सामग्रीहरू कृषक समूहलाई हस्तान्तरण गरेका थिए । कृषक समूहलाई उक्त सामग्री वितरण गर्दै नगर प्रमुख थापाले आर्थिक मन्दीका कारण सोचे जति सहयोग गर्न नपाए पनि भए सम्मको सहयोग उपलब्ध गराइएको बताए।
यस अघि सरकारले दिएको अनुदान वास्तविक किसान सम्म पुग्न नसकेको गुनासो आए पनि अहिले भने वास्तविक किसानहरू छनौट गरेर नै वितरण गरिएको उनको भनाइ थियो ।
कार्यक्रममा नगर उपप्रमुख भट्टराईले कृषि सामाग्री सहित माटोको परीक्षण, मल बिउ वितरण लगायतका सेवा समेत सञ्चालन गरेको भन्दै यसबाट लाभ लिन सबै कृषकलाई आग्रह गरिन ।
कृषकहरूलाई समूह मार्फत १५ वटा पावर स्प्रेयर र २० वटा मकै छोडाउने मेसिन वितरण गरिएको नगरपालिकाकी कृषि शाखा प्रमुख चन्द्रकला भट्टराईले जानकारी दिइन । २३ हजार ५ सय रुपैया, मकै छोडाउने मेसिन र ४ हजार ५ सय रुपैयाँ पावर स्प्रेयर मेशिन पचास प्रतिशत अनुदानमा कृषक समूहलाई वितरण गरिएको उनले बताइन ।
नगरपालिकाको आर्थिक विकास समिति संयोजक इन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष हरि न्यौपानेको समेत उपस्थिति रहेको थियो ।