इटहरी : विराटनगर महानगरपालिकाले सडकमा पार्किङ निषेध गरेपछि व्यापारी व्यवसायी आन्दोलित भएका छन् । ‘ग्राहक मास्न पाइँदैन नो पार्किङ चाहिँदैन’ भन्दै व्यापारीले निषेधित क्षेत्रमा पोस्टर टाँसेका हुन् । व्यवसायीका विरोधका बाबजुद महानगरले आफ्नो निर्णय परिवर्तन नगर्ने अडान लिएको छ ।

नगर प्रहरी परिचालन गरेर सडक क्षेत्रमा पार्किङ गर्न रोक लगाएको महानगरलाई व्यापारीले चुनौती दिइरहेका छन् । स्थानीय व्यापारी विनोद अग्रवाल महानगरले विकल्प नदिई निर्णय गरेको भन्दै आक्रोश व्यक्त गरे । पछिल्लो समय आर्थिक मन्दीले व्यवसायी समस्यामा परिरहेको बेला महानगरले सडकबाट पार्किङ हटाएर झनै अप्ठ्यारोमा पारेको उनको गुनासो छ ।

स्थानीय व्यापारीहरूले पार्किङ निषेधको विरोधमा महानगरपालिका कार्यालय घेराउ देखी बजार बन्द समेत गरे । विराटनगरको मुख्य बजार क्षेत्रमा पार्किङ निषेध गरिएको छ । यसअघि पनि अव्यवस्थित पार्किङ रोक्ने महानगरले निर्णय गरेको थियो । जुन पछि कार्यान्वयन हुन सकेन ।

हालका मेयर नागेश कोइरालाले सडकमा पार्किङ गर्न नदिने निर्णयलाई निरन्तरता दिने बताएका छन् । विराटनगरलाई सफा, सुन्दर, उज्यालो र व्यवस्थित बनाउन केही स्थानको सडकमा पार्किङ गर्न नदिने प्रतिबद्धता जनाएका हुन् । नगर प्रहरी परिचालन गरी ट्राफिक प्रहरी र सशस्त्र प्रहरी सँगको समन्वयमा पार्किङ निषेधलाई कडाइका साथ अगाडी बढाउने योजना बनाएका छन् ।

व्यापार व्यवसायका लागि उचित वातावरण तयार पार्न महानगर प्रतिबद्ध रहेको बताउँदै उनले सरोकारवालासँग छलफल गर्ने कोइरालाले बाचा गरेका छन् । प्रदेश राजधानीलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा महानगरपालिका लागिपरेको उनको भनाई छ ।

व्यापार प्रवर्द्धनका लागि सीमा क्षेत्रमा हुने अवैध आयात रोक्न लागिपर्ने बताउँदै आम उपभोक्तालाई विराटनगरकै बजारमा किनमेल गर्न लागि सचेतनामूलक अभियान चलाउने बताए ।