इटहरी : सुनसरीको इनरुवामा पूर्व राजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन हुने भएको छ । हिन्दुराज्य र राजसंस्था समर्थित समूहले पूर्व राजालाई सोमबार दिउँसो (आज) अभिनन्दन गर्न लागेको हो ।

पूर्व मन्त्री केशर बहादुर विष्टको संयोजकत्वमा गठित अभिनन्दन मूल आयोजक समितिले कार्यक्रमको तयारी गरेको हो । पूर्व मन्त्री रामकुमार सुब्बाले कार्यक्रमको समन्वय गरेका छन् । आयोजकले दिएको जानकारी अनुसार शाहलाई इनरुवा बजार परिक्रमा गराएर जेल फिल्डमा सम्बोधन गराउने तयारी भएको छ ।

कार्यक्रमको लागी गृह मन्त्रालयले भने अनुमति दिएको छैन । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार मन्त्रालयले अनुमति दिन अस्वीकार गरेको छ । कोशी प्रदेशको नामकरणको विषयमा आन्दोलन जारी रहेको बेला ठुलो सङ्ख्यामा भिडभाड गर्ने कार्यक्रमलाई अनुमति प्रदान नगरिएको उनले बताइन् । तथापि नागरिकको हिसाबमा सुरक्षा प्रदान गरिने उनको भनाइ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको सक्रियतामा पूर्व राजा शाह देशव्यापी अभियानमा छन् । केही दिन अगाडि इटहरीको बुढीगंगा मुक्ति घाटमा आयोजित साँझको आरती कार्यक्रममा सहभागी भएका थिए ।

दलीय असन्तुष्टिलाई आफ्नो पक्षमा पार्ने शाहले सक्रियता बढाएको बुझिएको छ ।