धरान : धरानमा आज आयोजित राष्ट्रिय सहकारी दिवसमा सहभागी अतिथिहरूले सहकारीहरूमा देखिएको विषयमा अवस्थामा सुधार र समुदायमा विश्वास कायम राख्न शुद्धीकरण, सञ्चालनकहरुमा इमानदारिता बढाउनु पर्ने कुरामा जोड दिएका छन् ।
चुम्लुङ भवनमा भएको वृहत् सभामा प्रमुख अतिथि धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले सहकारीको खराव प्रवृत्तिलाई प्रतिकार गरिनु पर्ने बताउँदै गलत नियतका, समस्याग्रस्त सहकारी आफै पाखा लाग्ने बताए ।
शेयर सदस्य तथा बचतकर्ताको मनोबल उच्च बढाउन जरुरी रहेकोमा जोड दिँदै उनले अप्ठ्यारो परिस्थितिमा पनि सहकारीले निम्न वर्गको आर्थिक विकासमा टेवा पुर्‍याउन काम गर्नुपर्ने बताए ।
उपमहानगरपालिका वडा १७ का अध्यक्ष मनोज भट्टराईले सहकारीमा सुद्धिकरण र नियमन जरुरी भएको बताउँदै भने ‘च्याउ जस्तै खुल्ने, व्यक्तिगत सहकारी र नयाँ सहकारीलाई स्थानिय सरकारले बन्द गर्नु पर्छ ।’
उनले सहकारी बिच स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिँदै होसियार, ईमान्दार र सुदृढ सञ्चालकहरू भए मात्र सहकारी उभोलाग्ने बताए ।
धरान-१५ का वडाध्यक्ष नरेश कुमार इवारमले सञ्चालक समिति र कर्मचारीको गलत प्रवित्तीका कारण सहकारी भित्र सङ्कट आएको बताए ।
स्थानिय सरकारले स्थानिय सहकारी ऐन २०७५ नियमावली पारित नगरेका  कारण स्थानिय सहकारी ऐनको दफा ६१ लागु हुननसकेको उनको भनाई थियो ।  
नियमन गर्ने अधिकार भएको स्थानिय सरकारका मेयर उपमेयर उपस्थित नभएकोमा उनले दुखेसो व्यक्त गरे । 
नेपाली काँग्रेस धरान उपमहानगर समितिका सभापति श्याम पोख्रेलले रातारात करोडपति बन्ने सपना देखेर व्याजको लोभमा बचतकर्ता फस्नु नहुने बताए ।
निक्षेपकर्ता र बचतकर्ताहरू व्याजको लोभमा परि सहकारीको वास्तविकता नबुझ्दा सहकारीहरूमा समस्या आएका उनको भनाई थियो । बजारमा सस्तो लोकप्रियताले ठगिने गरेको जस्तो शेयर सदस्य बचतकर्ता लोभमा फस्न नहुने बताए ।
नेकपा एमाले धरान उपमहानगर उपाध्यक्ष पारस काङमाङले सहकारी सञ्चालकहरूले गलत नियत राखेकोले पनि सहकारीमा दिनप्रतिदिन समस्या बढ्दै गएको बताए । उनले भने ‘सहकारीको मूल्य मान्यता विपरीत सञ्चालन भएको हुँदा समस्या आएको हो ।’
बचत सङ्घका उपाध्यक्ष काजी गिरीले धरानमा ९६ वटा सहकारीले २६ हजार शेयर सदस्य बनाएर ३ हजारलाई रोजगारी दिएको बताए ।
सहकारी दिवस सहकारी समन्वय धरान नगर समितिको आयोजना भएको हो । सभा अघि सहकारीकर्मीहरुको र्‍यालीले नगर परिक्रमा गरेको थियो ।
rasmi-bahini-samman
सभामा धरान-१५ स्थित विजयपुर बचत तथा ऋण सहकारी संस्थालाई उत्कृष्ट सहकारी सम्मान प्रदान गरियो । सहकारी अभियन्ता धरान-१५ का वडाध्यक्ष नरेश कुमार इवारम सम्मानित भएका थिए । सोही अवसरमा ‘कपुरी’ न्युज अनलाइनकी पत्रकार रश्मि प्रधानलाई पनि सम्मापत्र प्रदान गरियो ।
सभा नगर समन्वय समितिकी अध्यक्ष मिषण लामाको अध्यक्षतामा भएको हो । कार्यक्रममा सहसंयोजक कमला रुम्दालीले स्वागत मन्तव्य राखेकी थिइन् ।
उपमहानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख भक्तिराज शर्मा, जिल्ला सहकारी सङ्घका कोषाध्यक्ष लक्ष्मी प्रधानको उपस्थिति रहेको कार्यक्रम नवीन मेन्याङ्वोले सञ्चालन गरेका थिए ।