धरान : प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आज विज्ञप्ति जारी गर्दै चैत २७ गते सम्म आन्दोलनको हडताल, जुलुस, सभा, तालाबन्दी नहुने जनाएको छ ।

एसइई परीक्षा सञ्चालन भइरहेको कुरालाई ध्यानमा राखी तत्काल परीक्षामा असर पर्ने खालका सार्वजनिक विरोधका कार्यक्रम नराखिएको हो ।

विज्ञप्तिमा भनिएको छ ‘नेपालभर जारी रहेको एसइई परीक्षालाई ध्यानमा राखेर २०७९ चैत १७ देखि २७ गतेसम्म सङ्घर्ष समितिको वृहत् जनप्रदर्शन, सभा, जुलुस, हडताल, तालाबन्दीका आन्दोलनका कार्यक्रमहरू नरहेको सबैमा जानकारी गराउँदछौँ ।’

तथापि आन्दोलन जारी रहेको उल्लेख गर्दै सङ्घर्ष समितिले आन्दोलनमा मृत्यु भएका लाजेहाङ लिम्बु पदमलाई सहिद घोषणा, क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै चैत २६ गते सरकारलाई पुनः १० दिने अल्टिमेटम दिने जनाएको छ।

विज्ञप्तिमा भनिएको छ ‘आन्दोलनमा वीर गति प्राप्त गर्नुहुने मुक्ति योद्धा लाजेहाङ लिम्बु (पदम) लाई सहिद घोषणा, क्षतिपूर्ति र दोषीलाई कारबाहीको कुनै परिणाममुखी पहल नभएको हुनाले अब निर्णायक आन्दोलनको १० दिने चेतावनी अल्टिमेटम पत्र दिने छौँ ।’

समितिले चैत २७ गते सम्मको आन्दोलनका कार्यक्रमहरू पनि सार्वजनिक गरेको छ । शान्तिपूर्ण कार्यक्रमहरूमा चैत २१ देखि २७ गते जिल्ला, गाउँ, नगर र वडा तहसम्म सङ्घर्ष समिति गठन गरी जागरण अभियानलाई निरन्तरता दिइने छ ।

यसैबिच आन्दोलनलाई सशक्त बनाउन सङ्घर्ष समितिको स्वयंसेवक दस्ता निर्माण गरिने छ । कोसी नाम खारेजी किन ? भन्ने शीर्षकमा चैत २० देखि २७ गतेसम्म प्रत्येक दिन बेलुकीको भर्चुअल आमसभा सञ्चालन गरिने छ ।

प्रदेशको तराई क्षेत्रमा आन्दोलनलाई सशक्त बनाउन समन्वयात्मक अन्तरक्रिया सञ्चालन गरिने र राजनीतिक शक्तिहरूसँग थप समन्वय प्रारम्भ गरिने छ  ।

पूर्व घोषित कालो झन्डा रोप्ने, कोसी लेटर प्याड प्रयोग अवरोध, कोसी नाम खारेजी साहित्यिक, संस्कृत, कलात्मक कार्यक्रम, प्रचार, ८२ सांसद अवरोध तथा बहिष्कार लगायतको कार्यक्रमलाई  निरन्तरता र तीव्रता दिने जनाइएको छ ।namankan-new-PR