इटहरी : एनआइसी एसिया बैङ्कले इटहरीका कलाकार विक्रम श्रीको घरमा सेक्युरिटी गार्ड खटाएको छ। बारम्बार ताकेता गर्दा पनि ऋण नतिरेको भन्दै बैङ्कले घरको गेटमा गार्ड खटाएको हो । 
घरमा सुरक्षा गार्ड पठाएर ताकेता गरेको बैङ्कले ३५ दिने लिलामको सूचना समेत प्रकाशित गरेको छ। कलाकार श्रीले यस विषयमा स्वीकार गर्दै पछिल्लो समयको आर्थिक मन्दी र काम गरेको पैसा नपाएको कारण विलम्ब भएको बताएका छन् ।
आफूलाई घरमै ताला लगाएर नजरबन्द गरिएको भन्ने भ्रामक खबर बजारमा फैलिएको प्रति उनले सचेत गराएका छन् । ‘समयमा किस्ता बुझाउन नसक्दा बैङ्कले आफ्नो काम गरेको हो, यसमा मेरो गुनासो छैन, गार्डको राम्रो हेरदेख गरिदिएको छौँ ।, उनले भनेका छन्, "किस्ता बुझाउन खोज्दा खोज्दै पनि काम गरेको पैसा समयमा नउठ्नु, भ्रष्ट कर्मचारी र दलाल ठेकेदारहरूका कारण काम लिन र सम्पन्न गर्न सहजता नहुनु र देशमै आएको आर्थिक मन्दीका कारण यस्तो भएको हो।"
एकै दिन एकै पटक बैङ्कले सात दिने, ३५ दिने र घर लिलाम गर्ने पत्रीकामा छाप्ने तैयारीको सूचनाको पत्र सहित घर अगाडि गार्ड राखिएकोमा उनले आपत्ति जनाएका छन् ।
सहानुभूतिभन्दा हतोत्साहित बनाउने वातावरण रचना गरिएको र प्रतिकुल परिस्थिति प्रत्यक्ष देखेर पनि बारम्बार यस्तो दोहोरिनुले सबैलाई दुःखित बनाएको बताएका छन्  । बैङ्कलाई उनले आफ्नो स्लोगन ‘बैङ्क पनि साथी पनि’ सम्झन आग्रहसमेत गरेका छन् । 
यस विषयमा एनआइसी एसिया बैङ्क इटहरीका म्यानेजर गोपाल भट्टराई सँग कुराकानी गर्न खोज्दा उनी सम्पर्कमा आएनन् ।
एनआइसी ले झापाको दमकका दुर्गा प्रसाद कँडेलको घरमा पनि सुरक्षा गार्ड खटाएको छ । दैनिक ९ बजेदेखि बेलुकी ५ बजेसम्म खटाइएका सुरक्षा गार्डले कँडेलको घरको रेकि गर्ने गरेका थिए ।
३ महिनादेखि बैङ्कको साँवा तथा ब्याज तिर्न नसकेका कँडेलले १ करोड ऋण लिएका छन् । हाल घरबाट गार्ड हटाइएको भए पनि बैङ्कले बारम्बार तनाव दिने गरेको उनले बताए ।