धरान : प्रहरीले प्रतिबन्धित लागुऔषध सहित धरान, वराहक्षेत्र, दमक र इलामा ४ युवालाई मङ्गलवार पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
धरान-१७ का २४ वर्षीय समिर योगीलाई लागुऔषध ट्रामाडोर १ हजार ३ सय ८० क्याप्सुल र स्पास्पेइन १ हजार ८ सय चक्की सहित सोही वडा स्थित रेल्वे अस्थायी प्रहरी पोष्टबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो । 
समीरको घर खान तलास गर्दा घर भित्र झोलामा लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध उक्त परिमाणमा बरामद गरिएको प्रहरीले जनाएको छ ।  
दमक-४ का २७ वर्षीय यम मगरलाई प्रतिबन्धित लागुऔषध ३६ एम्पुल सहित पक्राउ गरिएको छ । उनलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर-१५ नेपाल-भारत सिमाक्षेत्रमा लागुऔषध सहित नेपाल आउँदै गर्दा पक्राउ गरेको हो ।
वराहक्षेत्र–३ का ३२ वर्षीय राज कुमार राईलाई ट्रमाडोल ३ सय क्याप्सुल सहित प्रहरीले गरेको छ ।  अस्थायी प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध सहित पक्राउ गरेको हो ।    
यसैगरी इलामको चुलाचुली गाउँपालिका-४ का २१ वर्षीय मुकेश लिम्बुलाई लागुऔषध १ सय ३२ चक्की सहित पक्राउ गरिएको छ ।
लिम्बुलाई प्रहरी चौकी पेल्टीमारी इलामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिई सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।