वराहक्षेत्र : जनता समाजवादी पार्टी निकट विद्यार्थी सङ्गठन समाजवादी विद्यार्थी युनियनले वराहक्षेत्रको सप्तकोसी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यालयमा तालाबन्दी गरेको ।

स्ववीयुमा निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिले पदभार ग्रहण गराउने दिनको पूर्वसन्ध्यामा बिहीबार समाजवादी विद्यार्थी युनियनले तालाबन्दी गरेको हो। निर्वाचन समितिले शुक्रवार पदभार ग्रहण गराउने मिति तय गरेको थियो ।

चैत्र ५ गते सम्पन्न स्ववीयु निर्वाचनमा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु सँग तालमेल गरेर निर्वाचनमा होमिएको समाजवादी विद्यार्थी युनियनले निर्वाचनमा भएको सहमति विपरीत समानुपातिकबाट जाने पदाधिकारीको नाम टुङ्ग्याएको भन्दै कार्यालयमा तालाबन्दी गरेको हो ।

फाल्गुन २७ गते जसपा र एमाले नगर कमिटीको रोहवरमा समाजवादी विद्यार्थी युनियन र अनेरास्ववीयु बिच समाजवादीलाई उपसभापति दिने सहमति भए पनि हाम्रो सङ्गठनबाट अलग भएको मान्छेलाई जिम्मेवारी दिएकाले तालाबन्दी गरेको समाजवादी विद्यार्थी युनियन सप्तकोसी बहुमुखी क्याम्प समितिका अध्यक्ष निश्चल राईले बताए ।

अनेरास्ववीयुकै टिकटबाट निर्वाचनमा होमिएको समाजवादी युनियनले उपसभापतिमा सोनम साहलाई पठाउन चाहेपनि अनेरास्ववीयुले टेकनाथ काफ्लेको नाम सिफारिस गरेको छ ।

निर्वाचन समितिले पनि टेकनाथ काफ्लेलाई सर्वसम्मतिले निर्वाचित गरेसँगै समाजवादी विद्यार्थी युनियन रुष्ट बनेको हो । निर्वाचनमा १ जना सदस्य बाहेक सबै पदमा विजयी बनेको अनेरास्ववीयु र समाजवादी विद्यार्थी युनियनको समानुपातिक र पदाधिकारी छनोटसँगै विवाद सुरु भएको थिए । अनेरास्ववीयुका एक नेताका अनुसार दुई सङ्गठनका नेताका बिच हात हालाहाल र सामाजिक सञ्चालमा आरोप प्रत्यारोप सुरु भएको थियो ।