धरान : लिम्बु जातीको थरगत संस्था हुक्पा चोङबाङ कल्याण सङ्घले तेस्रो राष्ट्रिय अधिवेशनको अवसरमा संस्थामा योगदान पुर्‍याएका दर्जन दाताहरूलाई शनिवार सम्मानित गरेको छ ।
सम्मानित हुनेमा गैर लिम्बु फेदाङ गाउँपालिकामा ८ आना जग्गा प्रदान गर्ने दाता मान बहादुर रेग्मी पनि छन् । यसै गरी धरान-१४ विजयपुरमा जग्गा खरिद गरी संस्थालाई हस्तान्तरण गर्ने मोहनकुमार हुक्पा चोङवाङ, शेरबहादुर, मोहनसिंह, तालमान, पञ्चबहादुर, मच्छिन्द्र हुक्पाचोङवाङलाई सम्मानित गरिएको छ ।
साथै निर्वाचित जनप्रतिनिधिहरू फेदाप गाउँपालिका हरिप्रसाद चोङवाङ, आठराई गापा वडाध्यक्ष भीम बहादुर हुक्पाचोङवाङ, फेदाप गापाका भेषराज हुक्पाचोङवाङ, मेन्छ्यायेम गापा अध्यक्ष विनय हुक्पाचोङवाङ सहितलाई सम्मानित गरिएको छ । सोही अवसरमा राष्ट्रिय निबन्ध प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने मनिता हुक्पाचोङवाङ सम्मानित भएकी छन् ।
प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघाले अधिवेशन उद्घाटनको अवसरमा हुक्पाचोङवाङ प्रतिभा र सृजनाका फुलहरू पुस्तक विमोचन गरे । उनले संस्थाहरू गठन गर्न सजिलो तर टिकाउन कठिन हुने बताउँदै हुक्पाचोङवाङ समाजले कठिन परिस्थितिमा पनि सामाजिक कार्यमा योगदान गरेकोमा प्रशंसा गर्दै निरन्तरताको कामना गरे ।
विजयपुर स्थित हुक्पाचोङवाङ रिसोर्टमा भएको उद्घाटन समारोह सङ्घका अध्यक्ष शेरबहादुर होक्पाचोङवाङको अध्यक्षतामा भएको थियो । स्वागत मन्तव्य मदन हुक्पाचोङवाङले राखेका थिए । नरप्रसाद लुङफुङवाले शुभकामना दिए । अधिवेशनको बन्दशत्र जारी छ । अधिवेशनले नयाँ कार्यसमिति छनौट गर्ने बताइएको छ ।
hukpacongbang-2