धरान : कोशी प्रदेश प्रहरी निमित्त प्रमुख वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले प्रहरीहरूलाई सामाजिक सञ्जालको सदुपयोग गर्दै अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम राख्नका लागि प्रयोग गर्न निर्देशन दिएका छन् ।
झापा जिल्ला प्रहरी कार्यालयको निरीक्षण भ्रमणको अवसरमा हिजो शनिवार निर्देशनको क्रममा उनले सामाजिक सञ्जालको कुरा पनि उल्लेख गरेका हुन् । खुल्ला सिमानाको कारण हुने विभिन्न आपराधिक गतिविधि, लागुऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरूलाई नियन्त्रण गर्न निमित्त प्रमुखले विशेष निर्देशन दिएका छन् ।
झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले झापा जिल्लाको वस्तुस्थितिका बारेमा निमित्त प्रहरी प्रमुख बास्तोलालाई अवगत गराएका थिए । सोही अवसरमा निमित्त प्रमुख बास्तोलाले निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय, मातहत कार्यालयहरूबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई आवश्यक निर्देशन दिएका हुन ।
सीमा क्षेत्रहरूमा कडाइका साथ चेक जाँचको व्यवस्था मिलाउनका साथै सवारी दुर्घटना न्यूनीकरण, सवारी नियम उलङ्घन गर्ने सवारी साधनलाई कारबाही र सवारी साधनको प्रयोग गरी हुन सक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न व्यवस्था मिलाउन निर्देशन दिइएको कुरा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।