• रोहित कुलुङ राई

धरान : उपमहानगरपालिका वाड नं. १५ नीराजन मार्गमा धरान १४ नं. वडाको पिण्डेश्वर मन्दिर हुँदै बग्ने खहरे खोल्सीबाट बर्सेनि बर्षातको समयमा खस्ने पहिरोले यहाँको बासिन्दा समस्यामा पार्दै आइरहेको छ।

खहरेबाट बगेर आउने ढुङ्गा, गिटी सहितको ग्रेगरले सडकको ड्रेन भरिएपछि पानी दर्जनौँ घरमा पस्ने समस्याले यहाँको बासिन्दा बर्षौ देखि समस्या झेल्दै आई रहेको स्थानीय बासी गजेन्द्र राईले बताए।

धरान उपमहानगरपालिका वाड नं. १५ र वाड नं. १४ को सिमानामा रहेको भिरालो जमिन बर्षातको समयमा साना-साना पहिरो जाने भएकोले स्थानीयको पहलमा पहिरो रोकथाम गर्न नसकेपछि १५ नं. वाड कार्यालय नगरपालिकामा निवेदन दिँदा पनि वास्ता नगरेको कारण यो समस्या रहिरहेको स्थानीय पर्वत राईले गुनासो सुनाए।

खहरे पहिरो रोक्न ढुङ्गाको गारो र जाली लगाएर मात्र पहिरो नियन्त्रण हुने भएकोले त्यसको लागि बजेट चाहिएकोले उपमेयर आइन्द्र विक्रम बेघालाई समेत अवलोकन गराएको स्थानीय डाकमान राईले बताए।

स्थानीय सरकार र सरोकारवालाले रोकथाम गर्नको लागि आउने आर्थिक वर्षमा बजेट विनियोजनको लागि ध्यान दिन स्थानिय डम्बर गुरुङले वडा र नगरलाई अनुरोध गरेको जानकारी दिए।

स्थानीयवासी आफैले अहिले खहरेको पहिरोले पुरेको ड्रेन सफा गरिरहेका छन्। उपमेयर आईन्द्र विक्रम बेघाले स्थलगत अवलोकन गरेर ड्रेनबाट निस्केको माटो ढुङ्गा बालुवालाई नगरले व्यवस्थापन गरिदिने बताएका छन्।