इटहरी : सुनसरीको इटहरीमा खाना महोत्सव हुने भएको छ । होटेल तथा पर्यटन व्यवसायी सङ्घ सुनसरीको आयोजनामा चैत २९ देखि वैशाख १० गतेसम्म महोत्सव आयोजना हुने भएको हो ।
पर्यटन बोर्डको सहयोग हुन लागेको महोत्सवमा नेपाली परम्परागत खानाको प्रोत्साहन गरिने आयोजकले जनाएको छ। होटेल तथा लज व्यावसायि समिति इटहरीको संयोजकत्वमा हुने महोत्सवमा विभिन्न जातीय खानालाई प्राथमिकतामा राखिने भएको छ ।
महोत्सवमा परापूर्व कालदेखि चलिआएको र पुस्तौंपुस्ताले अनुसरण गर्दै आएका खानेकुरा परिवेश सुहाउँदो तरिकाले तयार पारिने भएको छ ।
नेपाली मौलिक खाना लोप हुँदै गएको अवस्थामा त्यसलाई पुनः प्रयोगमा ल्याउँदै प्रचारप्रसार गरिएको सङ्घका अध्यक्ष पुरीले बताए । खानाको माध्यमबाट स्थानीय जनजीवन झल्किने र यसबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।