धरान: एक महिलाको फेसबुक वाल, टाइमलाइनमा अरू महिलाको शरीर जोडेर बनाएको तस्बिरहरू पोष्ट गरी चरित्रहत्या गरेको अभियोगका झापा गाउँपालिका वडा ६ का २० वर्षीय कादिर मोमिनलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालय साइबर ब्युरोद्वारा सोमवार जारी प्रेस विज्ञप्ति अनुसार उनलाई शुक्रवार पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिइएको छ। 
पीडित महिलाको फेसबुकमा चरित्रहत्या हुने खालको अश्लील शब्दहरू लेखेर तस्बिर र भिडियोहरू पोष्ट गर्नुका साथै महिलाको टिकटक एकाउण्टमा सामाग्रीहरूमा समेत अश्लील क्याप्सन राखी पोष्ट गरेर दुःख हैरानी दिएको भनी ब्युरोमा उजुरी परेको थियो ।
सोही आधारमा साइबर ब्युरो काठमाण्डौबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा कादिरलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरिएको हो ।