धरान : कोशी प्रदेश नाम खारेजी, पुनः नामाङ्कन आन्दोलनमा शहादत प्राप्त गरेका पदमकुमार लिम्बु लाजेहाङलाई सङ्घीय सरकारद्वारा शहिद घोषण गरिएको औपचारिक पत्र गृह मन्त्रालयले आज जिल्ला प्रशासन मोरङलाई पठाएको छ ।
प्रशासनले औपचारिक रूपमा सहिदको परिवार तथा सरोकारवालालाई पत्र हस्तान्तरण भने गरीनसकेको संयुक्त सङ्घर्ष समितिको घटक सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सुनसरीका अध्यक्ष अमर इजमले बताए ।
पत्रमा सम्बन्धितलाई जानकारी गराउने भनिए अनुसार गृह मन्त्रालयले औपचारिक रूपमा संयुक्त सङ्घर्ष समितिलाई पत्र सहित जानकारी गराएपछि लाजेहाङको अन्तिममा संस्कारको विषयमा सङ्घर्ष समितिले निर्णय गर्ने इजमको भनाई छ ।
गृह मन्त्रालयद्वारा मोरङ जिल्ला प्रशासनमा पठाइएको पत्रमा भनिएको छ ‘नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७९। १२। २४ को मन्त्रिपरिषद्को बैठकबाट ‘कोशी प्रदेश नामकरणको विषयलाई लिएर विराटनगरमा भएको प्रदर्शनमा घाइते भई उपचारको क्रममा मृत्यु भएका पदमकुमार लिम्बु, तेह्रथुमलाई शहिद घोषणा गर्ने एवं निजको परिवारलाई दश लाख रुपया आर्थिक सहायता उपलब्ध गराउने भनी निर्णय भएको ब्यहोरा तहाँको जानकारीको लागि अनुरोध छ ।’
लाजेहाङको शव आज १९ दिन देखी धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा छ । संयुक्त सङ्घर्ष समितिले लाजेहाङको मृत्यु लगत्तै आन्दोलनको माग थप गरी उनलाई सरकारद्वारा शहिद घोषणा नगरिए सम्म शव जिम्मा नलिने घोषणा गरेको थियो ।
लाजेहाङ चैत ५ गते विराटनगरमा आयोजित आन्दोलनको बृहत् प्रदर्शनमा घाइते भएका थिए । उनलाई चैत ९ गते बेहोस अवस्थामा बिपी प्रतिष्ठानको आइसियुमा भर्ना गरिएको थियो । चैत १० गते बेहोस अवस्थामा नै उनको निधन भएको थियो ।
४२ वर्षीय लाजेहाङ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर थिए । लाजेहाङ छत्रबहादुर लिम्बुका छोरा हुन । उनी २०५२ देखी लिम्बुवान आन्दोलनमा सक्रिय थिए ।
lage-hanga-letter-123