धरान :  नेपालमा मौसमी रुघाखोकी सँगै कोरोना कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण बढेपछि धरान उपमहानगरपालिकाले कोभिड रोकथामको खोप लगाएका तर बुस्टर डोज लगाउन छुटेकाहरू लाई मङ्गलवार र बुधवार खोप लगाएको छ ।
पहिलो चरणमा ५५ वर्ष माथिका र १२ वर्ष माथिका दीर्घरोगी, गर्भवती, रोग प्रतिरोध क्षमता कम भएका व्यक्तिलाई पहिलो डोज दिइएको हो । धरानका सबै वडाहरूमा सञ्चालन गरिएको बुस्टर डोज खोप कार्यक्रममा सचेतता पूर्वक स्थानियवासीहरुले अतिरिक्त खोप लगाएका छन् ।
उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताका अनुसार धरानमा मङ्गलवार सञ्चालन गरेको खोप कार्यक्रममा पहिलो बुस्टर डोज ७१८ जना र दोस्रो बुस्टर डोज ५६३ जनाले लगाएका छन् । बुधवारको सङ्ख्या बिहीबार मात्र एकिन गर्न सकिने उनले बताए ।
सरकारले स्वास्थ्य मापदण्डहरू पालना गर्न आग्रह गर्दै कोभिडको बुस्टर खोप लगाउन आव्हान गरेको छ । सोही अनुसार स्थानीय सरकारले बुस्टर डोज कार्यक्रम सञ्चालन गरेको हो ।
उपमहानगरपालिकाले स्थानीय सरकार अन्त्रगतका आधारभूत स्वास्थ्य चौकीहरूमा बुस्टर डोज कार्यक्रम  सञ्चालन गरिरहेको छ । उपमहानगरपालिकाको २० वटै वडामा चैत २८ र २९ गते लक्षित समुदायका लागि २१ वटा स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको हो ।
खोप पहिलो बुस्टर डोज लिन बाँकी रहेका ५५ वर्ष भन्दा माथि उमेर समूह, १२ वर्ष माथिका दीर्घरोगी, गर्भवती र रोग प्रतिरोध क्षमता कम भएका व्यक्तिलाई पहिलो डोज दिइएको अधिकृत मेहताले बताए ।
उनका अनुसार लक्षित समूहले पहिलो बुस्टर डोज लगाएको ६ महिना पुरा भएकोलाई दोस्रो बुस्टर डोज दिइएको हो ।
बुस्टर डोज आधारभूत स्वास्थ्य सेवा केन्द्र धरान–१६, आधारभूत स्वास्थ्य केन्द्र धरान–१७ पटनाली, सहरी स्वास्थ्य केन्द्र धरान–१७, धरान–१९ वडा कार्यालय, धरान १८ वडा कार्यालयमा सञ्चालन गरिएको थियो ।
त्यस्तै आधारधुत स्वास्थ्य सेवा केन्द्र धरान १२, आधारभूत स्वास्थ्य सेवा केन्द्र धरान–११, आधारभूत स्वास्थ्य सेवा केन्द्र धरान–८, धरान–९ वडा कार्यालय, धरान–१० वडा कार्यालय, धरान–७ वडा कार्यालयमा पनि बुस्टर डोज दिइएको छ ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र धरान–१३, आधारभूत स्वास्थ्य सेवा केन्द्र–१४, आधारभूत स्वास्थ्य सेवा केन्द्र धरान–१५ मा दुवै दिन खोप लगाइएको छ ।
धरान स्वास्थ्य चौकी धरान–१, धरान–२ वडा कार्यालय, आधारभूत स्वास्थ्य सेवा केन्द्र धरान–३, सामुदायिक स्वास्थ्य इकाई हर्दिया धरान–४ मा पनि बुस्टर डोज लगाइएको छ ।
पञ्चकन्या स्वास्थ्य चौकी धरान–५, आधारभूत स्वास्थ्य सेवा केन्द्र धरान–६, बिष्णुपादुका स्वास्थ्य चौकी  धरान–२० मा बुस्टर डोज दिइएको जनस्वास्थ्य अधिकृत मेहताले बताए । उनका अनुसार बुस्टर डोज खोपको कार्यक्रम प्रभावकारी रहेको छ ।
बुस्टर डोजका लागि धरानका २१ वटा स्वास्थ्य केन्द्रमा ४४ जना अनमी ,अहेव, स्टाफ नर्स, ग्रामीण स्वास्थ्यकर्मी र ११ जना  सुपरभाइजर खटिएका थिए ।