इटहरी : जनता बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको नवनिर्वाचित समितिले छात्रा शौचालयमा सेनेटरी प्याड डिस्पोजल मेसिन जडान गर्ने निर्णय गरेको छ । छात्रा विद्यार्थीले प्रयोग गरेको प्याडको विसर्जन गर्ने उपयुक्त अवस्था नभएको भन्दै डिस्पोजल मेसिन जडान गर्न लागेको हो । 
त्यससँगै बुधवार पदभार ग्रहण गरेपछि बसेको कार्यसमितिको पहिलो बैठकले कर्मचारीलाई सम्मान गर्ने अर्को निर्णय गरेको छ । क्याम्पसमा कार्यालय सहयोगीको रूपमा लामो समयदेखि कार्यरत कर्मचारीलाई हौसला स्वरूप सम्मान गर्न लागिएको स्ववियू सभापति सहदेव काफ्लेले बताए । 
विद्यार्थीको हक हितको लागि काम गर्ने भन्दै मत लिएर विजयी भएपछि त्यही अनुसार अगाडी बढ्ने उनले बताए । पहिलो चरणमा अत्यावश्यक विषयमा चासो दिइने र बिस्तारै क्षमता अभिवृद्धि देखी आर्थिक उपार्जनमा विद्यार्थीलाई जोड्ने हिसाबमा काम गर्ने प्रतिबद्धता जनाए । घोषणापत्र कार्यान्वयन गर्न सकिने खालको भएकाले सोही अनुसार स्ववियूलाई अगाडी लैजाने धारणा राखे ।  
जनता बहुमुखीमा नेपाल विद्यार्थी सङ्घको तर्फबाट काफ्ले सहित बहुमत सदस्य निर्वाचित भएका छन् । नेविसंघ इकाई सभापति समेत रहेका काफ्ले निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका उज्ज्वल सिग्देल भन्दा ६१६ बढी मतान्तरले विजयी भएका हुन् ।