धरान : बोर्डिङ स्कुलका सञ्चालकहरूले कमिसन खाएर स्कुल ड्रेस, किताब कापी लगायतका शैक्षिक सामग्री उनीहरूले तोकेकै पसलमा किन्न पर्ने भनी गर्दै आएको सिण्डिकेट तोड्न धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानका संस्थागत स्कुलहरूलाई कडा निर्देशन जारी गरेका छन् ।
पछिल्लो समय सम्पन्न सामुदायिक स्कुलहरूले पनि संस्थागत स्कुलहरूको गलत अनुसरण गर्न थालेको छ । आज संस्थागत विद्यालयहरूलाई जारी गरेको निर्देशमा शैक्षिक सामाग्रीमा सिण्डिकेट प्रथा चलाउन थालेको उपमहानगरपालिकामा स्मरण पत्र बुझाएको उल्लेख गर्दै ‘अभिभावक विद्यार्थीहरूले आफूले चाहेको पसलबाट किन्न सक्ने व्यवस्था गर्न’ भनिएको छ ।
मेयर साम्पाङको उक्त निर्देशन सुरु हुन लागेको २०८० को नयाँ शैक्षिक सत्रलाई लक्षित गरी आएको हो । निर्देशन पत्रमा विद्यार्थीहरूले प्रयोग गर्ने पुस्तक, ड्रेस, ब्याग लगायतका शैक्षिक सामग्री खरिद गर्ने समय आएकोले विगत वर्षहरूमा संस्थागत विद्यालयहरूले कुनै एउटा मात्र पसल तोक्ने र सो पसलबाट मात्र खरिद गर्न बाध्य गराई नागरिकहरूले स्वतन्त्र रूपमा आफूले चाहेको पसलबाट खरिद गर्न पाउने आधिकारबाट वञ्चित गराएको कुरा उल्लेख छ ।
पत्रमा भनिएको छ ‘यदि कतैबाट सो सम्बन्धमा गुनासो आएमा वा अनुगमनको क्रममा निर्देशन उल्लङ्घन गरेको पाइएमा कानुन अनुसार कारबाही हुने ब्यहोरा समेत जानकारी गराइन्छ ।’ साथै ‘विद्यालयले लिने शुल्क समेत आफूखुसी वृद्धि निर्देशन गरिन्छ’ भनी मेयर साम्पाङले हस्ताक्षर गरेको निर्देशन पत्रमा उल्लेख गरिएको छ ।
Letter-school