काठमाडौँ : विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई शीतल निवासमा आयोजित विशेष समारोहमा विभूषण वितरण गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले विभूषण वितरण समारोहमा नेपाल रत्न, राष्ट्र गौरव, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनसेवाश्री प्रदान गरेका छन् ।
यस पटक ९८२ जनालाई राष्ट्रपतिले विभिन्न विभूषण प्रदान गरेका छन् । जसमा नेपाल रत्नबाट पूर्व प्रधानमन्त्री दिवङ्गत सुशील कोइरालालाई प्रदान गरियो ।
राष्ट्र गौरव विभूषण तीन जनालाई प्रदान गरिएको छ । राष्ट्र गौरव दिवङ्गत जीवराज आश्रित तथा सत्यमोहन जोशीलाई प्रदान गरिएको छ । यसै गरी मन्त्रिपरिषद्‌का पूर्व अध्यक्ष खिलराज रेग्मीलाई पनि नेपाल गौरव प्रदान गरिएको छ । संविधान दिवस अर्थात् गत असोज ३ गते विभूषण पाउनेको नाम सार्वजनिक भएको थियो ।