धरान : धरानबाट प्रकाशित ‘ब्लाष्ट  टाइम्स’ दैनिक पत्रिकाका प्रधान सम्पादक राजकुमार कार्कीलाई उनको ६५औँ जन्मदिनमा आज शुकबार आयोजित एक समारोहमा सम्मान प्रदान गरिएको छ ।
प्रेस चौतारी नेपालद्वारा आयोजित सञ्चार डबली कार्यक्रमका बिच अग्रज पत्रकार कार्कीलाई सम्मानित गरिएको हो । पूर्व मन्त्री तथा सङ्घीय प्रतिनिधि सभाका सांसद राजेन्द्रकुमार राईले कार्कीलाई दोसल्ला ओढाई सम्मान पत्र प्रधान गरेका हुन् ।
सांसद राईले राजकुमार कार्की पञ्चायतकलमा पूर्वका कम्युनिष्टहरुका संगठक, लोकतान्त्रिक आन्दोलनका एक योद्धा भएको बताए । उनको योगदानको उचित मूल्याङ्कन नभएको सांसद राईको भनाई थियो ।
प्रधान सम्पादक कार्कीले लोकतन्त्रको सङ्घर्ष गर्दा पञ्चायती शासकहरूले पटक पटक पक्राउ गरी बर्बर यातना दिएको अनुभव सुनाउँदै भने ‘प्रहरीले मलाई दुई पटक मार्न पनि लगेको थियो ।’ 
तिन पटक जेल जीवन बिताएका कार्कीले तानाशाही शासन विरुद्ध लोकतन्त्रका लागि सङ्घर्ष गरिए पनि अहिलेको राजनीति देख्दा ‘हुँदा खानेको लागि होइन, हुने खानेका लागि लोकतन्त्र आएको’ जस्तै भएको अनुभव सुनाए । 
डबलीमा पत्रकार महासङ्घ कोशी प्रदेशका सचिव देवेन्द्र कार्की, समकालीन पत्रकारहरू हर्ष सुब्बा, कृष्ण विनोद लम्साल, गोपाल देवान, एमाले प्रदेश समिति सदस्य मुरारी सुवेदीले उनले राजनीति, साहित्य र पत्रकारितामा गरेको योगदानको चर्चा गरेका थिए । 
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारी, प्रदेश सांसद रमेशकुमार बस्नेत, प्रेस सेन्टरका जिल्ला अध्यक्ष तीर्थ कार्कीले पनि कार्कीका योगदान चर्चा गरेका थिए ।
प्रेस चौतारीकी जिल्ला अध्यक्ष शुभद्रा प्याकुरेलको सभापतित्वमा भएको कार्यक्रममा चौतारी केन्द्रीय सदस्य सन्तोष काफ्ले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन सञ्जु राईले गरेकी थिइन् ।