इटहरी : थारु समुदायको महान् पर्व सिरुवा इटहरीमा धूमधामका साथ मनाइएको छ । इटहरी उपमहानगरपालिकाले प्रथम नागरिक घोषणा गरेको पहिलो वर्ष थारु समुदायले उत्साहका साथ पर्व मनाएका हुन् ।
थारु समुदायको विशेष महत्त्वका साथ हेरिएको सिरुवा पर्वमा उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको छ । मेयर हेमकर्ण पौडेल आफै इटहरीको प्रतिष्ठित कचना महादेवको थानमा गएर पूजा अर्चना गरे ।  
थारु संस्कृति बचाउ अभियानका अभियन्ता तेज नारायण चौधरी कचना भनेको थारु भाषामा सफा भन्ने अर्थ लाग्ने बताउँछन् । कचनाको पूजा गर्दा शरीर भित्र र बाहिर कुनै पनि दाग नहुने विश्वास रहिआएको उनले बताए । शरीरमा आउने मुसा लगायत दागहरू हराएर जाने विश्वासका साथ बैगुन चढाउने चलन रहेको उनको भनाई छ । 
हरेक वर्ष वैशाख ३ गते मनाइने सिरुवा पर्वमा थारु मात्र हैन अन्य समुदायका श्रद्धालुहरू पनि कचना पुग्ने गरेका छन् । मन्दिरको दर्शनमा मात्र हैन मेला भर्नको लागि समेत स्थानीयको बाक्लो उपस्थिति हुने गर्छ । 
खेतीपातीको समय सुरु हुनै लागेको बेला थानमा भाकल माग्ने चलन छ । हिलोको समयमा कुनै पनि किसिमको छाला रोग नलागोस् भन्ने कामनाका साथ यो पर्व मनाउने गरिएको हो ।
kachana-than-baigon-2Tengra-Mela-10