धरान : मेयर हर्क साम्पाङले सङ्घीय सरकार पूर्वाधार विकास मन्त्रालयको बजेटमा धरान-५ तल्लो देउराली सेउती खोला किनारमा निर्माणाधीन हेल्थ कोरिडोरको काममा रोक लगाएपछि स्थानिय समुदायले आपत्ति जनाएका छन् ।

सेउती खोलाको किनारमा निर्माणाधीन उक्त योजनामा मेयर साम्पाङले खोला अतिक्रमण भयो भनी रोक लगाएका थिए । हेल्थ कोरिडोरमा बाटो, फुटपाथ र आउटडोर जिम हलको डिजाइन रहेको छ ।

मेयर हर्क साम्पाङ आइतबार प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर सहित स्थलगत अवलोकनमा पुगेका थिए । उनले कोरिडोर खोलातर्फ चेपेर निर्माण गरेको भन्दै तत्काल काम रोकेका थिए ।

मेयर साम्पाङले ढुङ्गा भरेर राखिएको तार जाली पनि खोलाको भाग भन्दा करिब १० फिट सार्न ठेकेदार पक्षलाई निर्देशन दिएका थिए । ५० लाख रुपया लागतको उक्त निर्माणाधीन योजनाको काममा १० लाख रुपया खर्च भैसकेको अवस्थामा मेयर साम्पाङ आएर हठात् रोक लगाएको सोमवार निर्माण स्थलमै पत्रकार सम्मेलन आयोजना गरी स्थानिय समुदायले बताएका छन् ।

सामुदायिक टोल विकास समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कवि याक्खाले भने 'धरान ५ का जनतालाई मेयर हर्क साम्पाङले हेप्न खोज्यो जनता सर्वे सर्वा हो, श्रमदान गरेरै भए पनि कार्य सफल गरेर छाडने छौँ ।'

सङ्घीय सरकारको तर्फबाट आएका इन्जिनियर र धरान उपमहानगरपालिकाका इन्जिनियर प्रभात तामाङको स्थलगत निरीक्षणपछि उनीहरूका समन्वय योजनाको डिजाइन बनेको अध्यक्ष याक्खाले बताए । उनले भने ‘प्रभात तामाङ इन्जिनियर होइन भने मेयरले  होईनन भन्नु पर्‍यो ।’

नत्र एक्कासि कुरा नबुझी आएर मेयर हर्क साम्पाङले किन काम रोकेका हुन् त्यो बुझाउनु पर्‍यो भन्दै उनले भने ‘मेयरको यो कदमविरुद्ध हाम्रो आपत्ति छ ।’

उक्त योजना तत्कालीन मेयर तिलक राईको कार्यकालमा धरान उपमहानगरपालिका मार्फत सहरी पूर्वाधार विकास मन्त्रालयको योजनामा परेर बजेट विनियोजन भएको हो । याक्खाका अनुसार गतवर्ष  खोलाको भाग कति छोड्ने भन्ने विवादले काम हुन सकेको थिएन ।

सिद्धकाली निर्माण सेवा इटहरीका ठेकेदार सुदर्शन खडकाले ५० लाखको लागतमा गरेको सम्झौता अनुसार कार्य गरिरहेको समितिका अध्यक्ष याक्खाले बताए । उनका अनुसार समन्वय गरेर नै काम भइरहेको थियो ।

स्थानीयवासी हरि बहादुर रम्तेलले भने ‘मेयरको सुकुम्वासी जनतालाई हेर्ने दृष्टिकोण ठिक भएन ।’ जनताको मेयर सोचेर भोट दिएको तर गरिब सुकुम्वासीका हित भइरहेको काम रोकेकोमा उनले असन्तुष्टि व्यक्त गरे ।

स्थानिय होमनाथ रिजालले नगरपालिकाले बजेट आवश्यक ठानेन नै सुकुम्वासीको हितका लागि बाहिरबाट बजेट ल्याएर कार्य भइरहँदा अवरोध गरेको बताए ।

उपमहानगरपालिका र सरकारको मन्त्रालयबाट स्वीकृत भएको योजनाको काम हुनु भन्दा अगाडी आएर अनुगमन गरेको भए हुन्थ्यो तर, करिब १० लाखको काम भएर रोक्दा आपत्ति भएको स्थानिय समुदायको भनाई छ ।

इन्जिनियर तामाङका अनुसार सुरुमा ५० फुटको कोरिडोर बनाउने योजना भए पनि अहिले ४० फुटको निर्माण भइरहेको छ । त्यसमा बाटो, फुटपाथ र आउटडोर जिम हल बन्छ ।

tol-bikash-dharan-5-2