धरान : कोशी प्रदेश नामाङ्कन खारेजीको आन्दोलनमा अहिले कुन पार्टी पहिचान नचाहने हो उसै सँग सङ्घर्ष गर्नुपर्ने विन्दुमा पुगेको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले बताएका छन् ।
माओवादीले गल्ती स्वीकार गरेको अवस्थामा अब काँग्रेस र एमाले मध्ये पहिचान नचाहने कुन पार्टी हो ठहर गर्नुपर्ने अवस्था आएको उनको भनाई छ ।
मोरङको पथरीशनिश्चरे सिरिजंङ्गा धार्मिक वनमा सोमवार संयुक्त सङ्घर्ष समितिको छलफलमा उनले भने ‘कोशी नाम राखिएपछि माओवादीको सङ्घ र प्रदेशले विज्ञप्ति प्रकाशन गरी गल्ती स्वीकार गरेको अवस्थामा एमाले, काँग्रेसले पुनः विचार गरे तुरुन्त कोशी खारेजी हुनेछ ।’
प्रदेश नं. १ पुनः नामकरण संयुक्त सङ्घर्ष समिति जिल्ला, पालिका देखि वडा तह सम्म गठन भइरहेको उल्लेख गर्दै लिङदेनले अन्तिममा कोशी नाम खारेजी गर्न कुन पक्ष मान्दैन उनैसँग सङ्घर्ष हुनसक्ने बताएका हुन् ।
प्रदेशको नाम कोशी खारेजी नगरी हुनसक्ने कुनै निर्वाचन पनि स्वीकार्य नहुने जनताले बहिस्कार गर्ने अध्यक्ष लिङ्देनले बताए ।
किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, अभियन्ता जयराज केरुङ, किरात मोर्चा महासचिव तेन्धोङ्हाङ्ग किराँती, किरात धर्म तथा साहित्य उत्थान सङ्घ मोरङ अध्यक्ष रामभक्त कुरुङ्बाङ छलफलमा सहभागी थिए ।
यायोक्खा जिल्ला अध्यक्ष केदार राई, किरात याक्थुङ चुम्लुङ अध्यक्ष डम्बर कुरुम्बाङ्ग, आदिवासी जनजाति महासङ्घ नगर अध्यक्ष देबेन्द्र वनेम लगायतले सङ्घर्षको स्वरूपका बारे धारणा राखे ।
सहभागीहरूले प्रदेश सभाको जोड घटाउ, वर्तमान परिस्थिति पार्टीको मानसिकताको अध्ययन गरेर आन्दोलन अघि बढाउन सुझाव दिए ।
मुख्यमन्त्री कार्यालय वा प्रदेश सभा, पहाडी भूभाग तुरुन्त कब्जा गर्ने आन्दोलन तयारीमा यायोक्खा लागेको जिल्ला अध्यक्ष केदार राईले बताएका छन् ।